२९ आश्विन २०८३, बिहिबार

मिसन ग्रासरुट सकिएपछि पनि निरन्तर पार्टी काममा लाग्न कार्यकर्तालाई शंकर पोखरेलको निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ७ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) ले पार्टीभित्र शक्ति प्राप्त हुने र यसको परिणाम चार वर्षपछि हुने निर्वाचनमा देखापर्ने विश्वास व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा आज मिसन ग्रासरुटको समीक्षा बैठक समापनका अवसरमा महासचिव पोखरेलले चौतर्फी आक्रमण हुँदा पनि गत निर्वाचनमा एमाले ४४ जिल्लामा पहिलो पार्टीका रूपमा स्थापित भएको र अबको निर्वाचनमार्फत देशैभर सम्पूर्ण हिसाबले पहिलो पार्टी बनाउनुपर्ने र त्यसका लागि नेता तथा कार्यककर्ताहरू क्रियाशील भइरहनुपर्ने बताएका हुन् ।

२०४६ सालपछिको ३२ वर्षमा २८ वटा सरकार बनेको चर्चा गर्दै महासचिव पोखरेलले यस्तो अस्थिरताको दुष्चक्रबाट मुलुक बन्न नसक्ने भएकाले चार वर्षपछिको निर्वाचनमा बहुमत ल्याउने अभियानका साथ ‘मिसन ग्रासरुट’ सकिएपछि पनि निरन्तर पार्टी काममा लाग्न सबै तहका कार्यकर्तालाई आग्रह गरे ।

‘चुनावमा विजय प्राप्त गर्न जनमत चाहिन्छ । तर, चुनाव भनेको उम्मेदवारको हैन, पार्टीको बिषय बनाइनुपर्छ र चुनावमा विजय हासिल गर्नु भनेको वर्ग संघर्षको विषय भएकाले चुनाव जित्ने मात्र हाइन, विचारसहित रूपान्तरणकारी भएको उम्मेदवार पनि हुनुपर्छ,’ महासचिव पोखरेलले भने ।

सो अवसरमा पार्टीभित्र आन्तरिक समस्या रहेकोतर्फ सचेत बनाउँदै अबको पार्टी गुणात्मक ढङ्गले अगाडि बढाउन विभिन्न कमिटीहरूलाई निर्देशन दिए । कमिटीका आकार बढ्ने तर पार्टी कमजोर हुने कारण पत्ता लगाएर मिसन ग्रासरुटमार्फत् लिखित प्रतिवेदनमा सबै तथ्य तथा सुझावहरू केन्द्रमा पठाउन प्रदेश कमिटीलाई महासचिव पोखरेलले आग्रह गरे ।

पार्टी सदस्यता नवीकरण गर्ने कामलाई विशेष जोड दिँदै उनले नवीकरण गर्दा भौतिक उपस्थितिमा गर्नुपर्ने कुरामा जोड दिए ।

सहभागीहरूबाट प्रशिक्षणको आवश्यकता रहेको प्रसङ्ग उठे पनि केन्द्रले पठाएका निर्देशन तथा सुझावलाई कार्यान्वयन गर्नमा कमजोरी रहेकोतर्फ सङ्केत गर्दै प्रशिक्षण भनेको स्वअध्ययन पनि हो भन्ने कुरालाई नबिर्सन महासचिव पोखरेलले आग्रह गरे ।

सबै प्रदेशबाट ‘मिसन ग्रासरुट’ का प्रतिवेदन आइसकेपछि त्यस आधारमा केन्द्रले आगामी कार्ययोजना बनाउने भएकाले तदनुसार नै प्रदेश, जिल्ला तथा पालिका तहमा पनि कार्ययोजना बन्नेछन् । यस्ता कार्ययोजना अन्तर्गत विषयगत प्रशिक्षण चलाउनाका साथै सदस्यता विस्तार तथा सक्रियता बढाई आवश्यकता अनुसार कमिटीहरू गठन/पुनर्गठन वा अधिवेशन गर्नेसम्मको अवस्था आई सबै कमिटीहरू विधिसम्मत चल्ने अवस्थाको सिर्जना हुने विश्वास गरिएको छ ।

बैठकपश्चात् लुम्बिनी प्रदेशका १०९ पालिका, १२ जिल्ला र प्रदेश गरी १२२ वटा पूर्ण प्रतिवेदन तयार गरी केन्द्रमा पठाइने छ । ती प्रतिवेदनहरू केवल रिपोर्ट मात्र होइन, प्रवृत्तिगत विश्लेषणसहित तयार हुनेछन् । यसबाट जनसंख्याको अनुपातमा पार्टीको उपस्थिति र अबका दिनमा गर्नुपर्ने कामको पहिचान हुनाका साथै सक्रिय व्यक्तिहरू नै पार्टीमा क्रियाशील हुने अवस्था आउने विश्वास गरिएको छ ।

‘मिशन ग्रासरुट’ को समापन पश्चात् हाल पार्टीभित्र देखा परेको पदाधिकारीले निर्णय गर्ने प्रक्रियालाई कार्यकर्ताको सुझाव अनुसार नै अन्त्य गरिने र कमिटी प्रणालीलाई स्वचालित बनाई पदाधिकारीले कमिटीको निर्णयलाई कार्यान्वयन गर्ने अवस्था सिर्जना गरिने छ ।

दुई दिनसम्म चलेको समीक्षा बैठक समापनमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरू भीम आचार्य, भानुभक्त ढकाल, डा. राजन भट्टराई लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो । बैठकमा पोलिटव्यूरो, केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा विभागमा रहेका नेताहरू, १२ वटै जिल्लाका अध्यक्ष तथा प्रदेश कमिटीका नेताहरू सहभागी रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।