
चितवन, ७ वैशाख । चितवनको भरतपुर महागनरपालिका वडा नं. १ रामनगरको सुकुम्बासी वस्तीकी संगम लामा सुर्खेती जुगेडीबाट रामनगर खानेपानी ल्याउने भनेर दुई दिन श्रमदान गर्न गइन् । पाइप बोकिन । झाडी पन्छाइन् ।
चितवन २ बाट जितेका सांसद रवि लामिछानेले तीन महिनामा नै पानी खुवाउँछु भनेर घोषणा गरेकाले उनी श्रमदान गर्न पुगिन् । लामिछानेले नेता, कार्यकर्ता र जनतलाई श्रमदानका लागि आह्वान गरेर लगे पनि । तर, लामिछानेले जितेको पाँच महिना पुग्यो, तर रामनगरमा पानी अझै आएको छैन ।
अहिले वैशाखको खडेरीमा सो क्षेत्रका जनतालाई पानीको ठूलो समस्या छ । खानेपानी नै अभाव छ, वस्तुभाउ र सागपातमा पानी हाल्ने कुरा त धेरै परको भयो । बोलेको कुरा पूरा गर्ने हो, जसरी कुनै हालतमा पनि तीन महिनाभित्र पानी खुवाउँछु भनेकाले आफूहरूले विश्वास गरेर घरको काम छाडि श्रमदान गर्न गएका धेरै जसो अहिलेसम्म पानी नआउँदा दु:खी बनेका छन् ।
अघिल्लोपटक चुनाव अगाडि र पछाडि रामनगरका विभिन्न बस्तीमा डुलेका लामिछाने नै अहिले पुन: उम्मेदवार बने । तर, पानी ल्याउने कुरा उनको मुखबाट सुनिन छाडिएको छ । अहिले टोड्खे खोला र ड्याग्रेको पानी ल्याएर बिहान र साँझ बाँड्ने त गरिएको छ तर एक ग्रागी पानी पनि राम्रोसँग थाप्न नपाउँदै सुक्छ ।

सुकुम्बासी बस्तीकै सरु खड्का पानीको अभावले निकै समस्या परेको बताउँछिन् । ‘१० मिनेट पनि पानी आउँदैन, कहिले २/४ बोतल मात्रै भर्न सकिन्छ, अनि आउँदैन, इनार पनि छैन’ खड्का भन्छिन् ‘भोट माग्न आउँछन्, पानी दिन्छु भन्छन्, नयाँ–नयाँ आउँछन्, तर दिँदैनन्, दिन्छन् त केवल आश्वासन मात्रै, ’ उनले भनिन् ।
चुनावका बेला पानीको सपना रामनगरमा निकै बाँड्ने गरिन्छ । सोही ठाँउकी सुनिता गुरूङ्गका छोरा रोशन गुरूङ्ग लामिछानेको पानी ल्याउने अभियान भन्दै श्रमदान गर्न गए । काम पनि गरे । तर, पानी आएन । सुनिता भन्छिन्, ‘रवि लामिछाने पानी ल्याउँछु भनेर ल्याएनन् ।’ नेपाल प्रहरीबाट रिटायर्ड भएर सोही ठाँउमा बसेका बालकृष्ण भट्टराईले सांसद बनेको भोलिपल्टबाट नै पानी ल्याउँछु भनेर तुजुक छिकेका रवि लामिछाने फर्किएर नआएको बताए ।
भट्टराईले भने, ‘म त श्रमदान गर्न पनि गइनँ, रवि लामिछानेले मच्चाउने स्टण्डबारे म जान्दछु, उनले तीन महिनामा पानी खुवाउँछु भने । मैले पत्याइन, मलाई लाग्छ उनले जनतालाई ठगे, ढाँटे ।’ गत मंसिर ४ गतेको निर्वाचन परिणाम आएपछि चितवन–२ का तत्कालीन सांसद रवि लामिछानेले केही स्टण्डहरू देखाउन थाले, उनी जनता र कार्यकर्तालाई भेला गरेर कहिले रामनगर पुग्थे त, कहिले माछा किसानका समस्या सुन्न । तर, उनले देखाएका स्टण्डले कुनै काम गर्न सकेन ।
जुगेडी खोलाको पानीलाई रामनगर नजिकै रहेका ट्याङ्गकीमा ल्याएर तीन महिनाभित्र पानी खुवाउने आश्वासन दिएका लामिछानेले अब पानी खुवाउलान् भनेर आशा यहाँका स्थानीयलाई छैन । रामनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जीवनाथ पराजुलीले पानीमाथिसमेत राजनीति हुन थालेको बताउँछन् ।

जुगेडीको पानी अब सांसदले ल्याएर खुवाउँछन् भनेर पत्यार लाग्न छाडेको अध्यक्ष पराजुलीको भनाईं छ । ‘महिना तोकेर पानी आउँछ भनेर न हिजो पत्याएका थिए, न आज पत्याउने कुरा हो, न भोलि पत्याउँछन् जनताले,’ अध्यक्ष पराजुली भन्छन्, ‘पानी माथि राजनीति नगरौँ, सरकारका निकाय र जनता मिलेर योजनावद्ध तरिकाले पानी ल्याउने खाका चाहिन्छ ।’
पानी ल्याउने भनेर टाढा टाढाबाटसमेत मानिसहरू श्रमदान गर्न आएको बताउँदै अध्यक्ष पराजुलीले भने, ‘सक्नेले २/५ हजार सहयोग पनि गरे । अहिले जनताले खै त पानी आएको भन्छन्, के भन्ने ?’
रामनगरमा ढ्याग्रेखोलाबाट दैनिक १ लाख लिटर टोड्के खोलाबाट दैनिक सवा लाख लिटर पानी वितरण हुँदै आएको छ । अहिले ४ सय धारा वितरण गरिएको छ । २०७९ सालमा मात्रै १०० धारा थप भए । हरेक वर्ष पानीको स्रोत सुक्दै र कम हुँदै गएको छ । रामनगर क्षेत्रमा पानी ल्याउन विभिन्न बोरिङ खने पनि असफल भएको छ ।















प्रतिक्रिया