
काठमाडौं, ७ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज बिहीबार पनि दुई खेल हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने सिंगापुर र बहराइनबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । यसैगरी, सोही समयमा मलेसिया र साउदी अरेबियाबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
यसअघि हिजो बुधबार भएको खेलमा युएईले कुवेतलाई र ओमानले कतारलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।
कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।
लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।
यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।












प्रतिक्रिया