
काठमाडौं, ६ वैशाख । प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताए ।
राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उनको भनाइ थियो। सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताए ।
सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
सांसद एकनाथ ढकालले नेपालको राहदानीले ३७ देशको मात्र भ्रमण गर्न पाइने भएकाले कूटनीति बलियो बनाउन अनुरोध गरे । सांसद ऐनबहादुर शाही ठकुरीले तिब्बतसँग सीमा जोडिएका हुम्लाका नाका खोल्न माग गरे ।















प्रतिक्रिया