
काठमाडौं, ५ वैशाख । नेकपा एमालेले आफ्नो पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिनाअघि सुरू गरेको मिसन ग्रासरुट अभियानको समापन चरण सुरू भएको छ ।
यसै सन्दर्भमा हिजोदेखि कर्णालीमा सुरू भएको अभियानको समीक्षा बैठक आज सम्पन्न भएको छ भने अन्य प्रदेशहरूमा क्रमश: बैठक बस्ने कार्यतालिका छ । साथै देशका विभिन्न जिल्लाहरूमा आज पनि कार्यक्रमहरू भएका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
सुर्खेत
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेवाङले वर्तमान सरकार मूलुक र जनताका समस्या समाधान गर्ने भन्दा पनि सत्ता भागबण्डामै अल्झिएको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानको कर्णाली प्रदेशस्तरीय समिक्षा बैठकपछि मंगलबार सुर्खेतमा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष नेवाङले सरकार पदवाँडफाँडको गोलमालमा फसेको टिप्पणी गर्नुभएको हो । यस्तै सरकारले संसदलाई विजनेश दिन नसक्दा संसद कामविहिन भएको नेम्वाङले बताउनुभयो । सरकारले प्रधानन्यायाशीसम्म नियुक्त गर्न नसकेर अदालतलाई लज्जित बनाउने काम गरेको उहाँको भनाइ छ ।
मिसन ग्रासरुट अभियानका सन्दर्भमा उपाध्यक्ष नेम्वाङले अभियान सफल निश्कर्षमा पुगेको उद्घोष गर्नुभयो । एउटा अभियान सकिए पनि जनतामाझ पुग्ने यस्ता अभियान निरन्तर सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

यस्तै महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको सत्ता गठबन्धन टुटाएर माओवादीलाई नै धोका दिएको बताउनुभयो । एमालेसंगको गठबन्धन नयाँ जनादेश अनुसारको सबभन्दा अनुकुल गठबन्धन भएपनि प्रचण्डले त्यसलाई थेग्न नसकेको महासचिव पोखरेलको भनाइ छ । माओवादी आन्दोलनको भविष्य प्रचण्डै कै कारण धरापमा पर्दै गएको पनि उहाँले बताउनुभयो । मूलुकको विकास समृद्धिका र राजनीतिक स्थायित्वका लागि एमालेलाई बलियो पार्टीका रूपमा स्थापित गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो ।
मिसन ग्रासरुट अभियानको कर्णाली प्रदेश स्तरीय समीक्षा बैठक सकिएको छ । बैठकमा एमालेका उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्यहरू शिवमाया तुम्बाहाम्फे, विन्दा पाण्डे, गोरख बोगटीलगायतको उपस्थिति थियो ।
दाङ
नेकपा एमाले दाङले केन्द्रको निर्देशनअनुसार जिल्लामा मिशन ग्रासरुट अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । पार्टी स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा दाङको घोराहीमा सम्पन्न मिशन ग्रासरुट अभियानको समीक्षा एवम् जिल्ला कमिटी बैठकले जिल्ला कमिटीको तर्फबाट यस प्रकारकै एक महिने अभियान सञ्चालन गर्ने नयाँ योजना पनि बनाएको छ । पार्टीको स्थापना दिवसको अबसर पारेर वैशाख ९ गतेदेखि एक महिने दाङ ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको हो ।
बैठकले अभियानमा केन्द्र, प्रदेशबाट खटिनु भएका सबै नेताहरू, जिल्ला, पालिका एवम् वडा तहका सदस्यहरूलाई धन्यवाद दिनुका साथै अभियानका क्रममा अपेक्षित कार्य नभएका केही स्थानमा पुन: विशेष योजनाहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी एमाले दाङले पार्टी स्थापना दिवसको अबसरमा जिल्लाका दशवटै पालिकामा वामपन्थी आन्दोलनमा सहभागि एवम् समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई वैशाख ९ गते विशेष सम्मान गर्ने निर्णय पनि गरेको छ । बैठकले २०८० मा केन्द्र र जिल्लास्तरमा सहिद हुनुभएका एवम् वामपन्थी आन्दोलनमा विशेष भूमिका निर्वाह गर्नु भएका व्यक्तित्वहरूको स्मृतिमा विशेष कार्यक्रमहरू गर्ने योजनासमेत बनाएको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।
जिल्लाका दश वटा पालिका र एकसय वटा वडाहरूमा भएका गतिबिधिहरूको बारेमा जानकारी दिँदै बैठकमा पालिका अध्यक्ष, इञ्चार्ज एवम् सचिवहरूले अभियानकाक्रममा भएका उपलब्धि तथा समस्या रसमाधानकाबारेमा रिर्पोटिङ गर्नुभएको थियो ।
अभियानअन्तर्गत दाङमा हालसम्म दश हजारको हाराहारीमा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता थप, आठसय बढी टोल कमिटीहरू गठन, गाउँगाउँमा जनता एमालेको अभियानमा जोडिनुभएको अभियानका लागि खटिनुभएको प्रतिनिधिहरूले रिर्पोटिङ गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य भट्टराईले एमाले व्यवस्थित र बलियो भए मात्र मुलुकले गति लिने बताउनुभयो । नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियान एमालेलाई आउँदो २०८४ को निर्वाचनमा पहिलो शक्तिकारूपमा स्थापित गर्ने पहिलो खुड्किलो भएको चर्चा गर्दै नेता भट्टराईले नेकपा एमालेप्रतिको जनलहर चारैतिर बढेको र यो लहरलाई अझै बढाउनका लागि ग्रास रुट अभियानले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्घाखाँची
मिसन ग्रासरूट अभियानअन्तर्गत अर्घाखाँची जिल्ला कमिटीको पाचौँ पूर्ण बैठक तथा मिसन ग्रासरूटको समिक्षा बैठक सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

यसैक्रममा एमाले अर्घाखाँचीका उपसचिव शम्भु पोखरेलले छत्रदेवीमा रहेको आफ्नो चार आना जग्गा पार्टीलाई प्रदान गर्नुभएको छ । पालिट्ब्यूरो सदस्य थापाले पोखरेलले धन्यवाद ज्ञापन गर्दै पोखरेलले पार्टीलाई गर्नुभएको सहयोगले पार्टीलाई भौतिक पूर्वाधारका हिसाबले व्यवस्थित गर्न थप योगदान पु–याउने विश्वास व्यक्त गर्नुभयो ।
समिक्षा बैठकले सदस्यता नवीकरणको सूचकअनुसार पहिलो स्थानमा भुमिकास्थान नगरपालिका रहेको निष्कर्ष निकालेको छ । यस्तै, दोस्रोमा शितगंगा तेस्रोमा छत्रदेव, चौथामा मालारानी, पाँचौमा सन्धिखर्क र छैठौं नम्बरमा पाणिनी गाउँपालिका रहेको बैठकले मूल्यांकन गरेको छ । यसैबीच, अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा अर्घाखाँचीमा खटिनुभएका पोलिट्ब्यूरो सदस्य थापासहित तीनजनालाई बिदाईसमेत गरिएको थियो ।
अर्घाखाँची
मिसन ग्रासरूट अभियानअन्तर्गत अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा खटिनुभएको प्रतिनिधिहरूको छुट्टाछुट्टै समिक्षा बैठक बसेको छ ।

पार्टी पोलिट्ब्यूरो सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा अभियानको समग्र समिक्षासहित उपलब्धी र कमीकमजोरीको तथ्यपरक विश्लेषणसहित प्रतिवेदनलाई एकरूपता दिने निर्णय भएको पोलिट्ब्यूरो सदस्य थापाले जानकारी दिनुभयो ।
तनहुँ
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले वैशाख १० गते हुने निर्वाचनमा हरेक बुथमा १०० जनाको युवा दस्ता खटाइने बताउनुभएको छ । तनहुँको देवघाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले निर्वाचमा एमालेलाई घेराबन्दी गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको बताउनुहुँदै त्यसलाई चिर्नका लागि एमालेले हरेक बुथमा एकसय जना युवा खटाउन लागेको जानकारी दिनुभयो ।

एमालेले देशमा खेलेको भूमिकालाई लिएर विपक्षी पार्टीहरू आत्तिएको सन्र्दभमा एमाले नै जनताको पार्टी भएको समेत बस्नेतले बताउनुभयो । जे जति विकास र समृद्धिका कामहरू भए सबै एमालेको सरकारको पालामा भएको उल्लेख गर्दै उहाँले देश विकासका लागि एमाले नै चाहिने धारणा राख्नुभयो । युवाको रक्षा, युवाको विकास र समृद्धि नै युवा संघ भएको हुदाँ डटेर लाग्न समेत पोलिटब्यूरो सदस्य बस्नेतले निर्देशन दिनुभयो ।
लमजुङ
मिसन ग्रासरुट अभियान अभियानअन्तर्गत लमजुङको बेसींसहर नगर कमिटीको समीक्षा बैठक सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता र नगरकमिटीका अध्यक्ष राजकुमार बिष्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा गण्डकी प्रदेशका सचिवालय सदस्य फुलबहादुर थापा, लक्ष्मी अधिकारी र नन्दराम विश्वकर्मा तथा जिल्ला कमिटीकीक उपाध्यक्ष यशोदा रिमाल, सचिव सुवास पौडेललगायत नेताहरूको आतिथ्यता थियो । बैठकले पार्टीद्वारा सञ्चालति दुई महिने मिसन ग्रासरुट अभियान संगठन सुदेढ र विस्तारित बनाउने प्रभावकारी बनेकको निष्कर्ष निकालेको छ ।















प्रतिक्रिया