३ कार्तिक २०८३, मंगलबार

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु, एकजना बेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ।

काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत मंगलबार दिउँसो उद्धार गरिएको छ ।

‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएकी आरोही नोयल हन्नाको मृत्यु भएको छ । उनको शव ६ हजार मिटरको उचाइबाट आधार शिविरमा ल्याइएको छ । दुवैजना आज बिहानदेखि बेपत्ता भएका थिए ।

सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु भने बेपत्ता भएका छन् । सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएका थिए ।

उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ ।