
काठमाडौं, ५ वैशाख। धेरैलाई लाग्न सक्छ सरकारको महत्वपूर्ण अंगको प्रमुख भएका व्यक्तिको चालचलन भव्य हुन्छ । तर, यो अनुमान सबैसँग मेल खाँदैन। यस्तै उदाहरण बनेका छन् नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल।
नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नं १ मा उपनिर्वाचनका लािग उम्मेदवार रहेका खनाल सरल ढंगले मतदातासंग भोट मागिरहेका छन्। उनका अघिपछि न ठूला लावालस्कर छ न भीडभाड । न त उनले कुनै भोजभतेर गरेका छन् । एक/दुईजना सहयोगीका साथमा मतदाताका घरघर पुगेर ‘भोट मलाई है हजुर’ भनिरहेका छन् । आफ्ना योजना सुनाइरहेका छन् ।
खनालले भोट मागिरहेका देखेका स्थानीय बन्दीपुरको एक पसलमा चर्चा गर्दै थिए ‘बाहिर हल्ला गरे जस्तो यी उम्मेदवार त विलासी रहेनछन्। हेर्दै सामान्य किसानका छोरा जस्ता। कुनै उत्ताउलोपन नदेखाई भोट मागिरहेका।’

एमालेबाट उम्मेदवार बनेका खनालको यही साधारण शैलीले अहिले तनहुँका मतदाताको मन जितिरहेको छ। मतदाताकोबीचमा उनको शालिनता र सरलपनले स्थानीयको मन पगालिरहेको छ । अन्य उम्मेदवारको तडकभडक देख्दा साउथ इण्डियन चलचित्रको नाटकीयपन झल्को दिने गरेकोमा खनालको नेपालीपनको चुनावी प्रचारशैली अहिले उदाहरणीय बनेको छ ।

नेपाल प्रहरीमा रहँदा बेथिति सुधारदेखि गुण्डा नियन्त्रणमा सफलता प्राप्त गरेका खनाल बाँकी जीवन जनताको सेवामा खर्चने प्रण गरेर राजनीतिमा होमिएको बताउँछन् ।
‘म जनताको लागि काम गर्न आएको मान्छे, अनावस्यक आश्वासन दिन्न, सक्ने काम गर्ने वाचा गरेको छु । वाचा गरेको काम पूरा गरेरै छोडछु,’ खनाल भन्छन् ।
उनी सामु मतदाताले लघुवित्तको पीडादेखि गाउँमा उत्पादित सामग्रीले बजार नपाएकोसम्म गुनासो गर्ने गरेका छन् । मिटरब्याजहोस वा लघुवित्तका नाममा हुने ठगी होस्, यी सबै ठगका धन्दाहरु बन्द हुनुपर्छ भन्ने मेरो अठोट हो, खनालले भने ।
देशभित्र जकडिएको कुशासन मात्र नभई राजनीतिको फोहोर सफा गर्ने लक्ष्य लिएर आफू राजनीतिमा आएको उनी बताउँछन् ।















प्रतिक्रिया