२९ आश्विन २०८३, बिहिबार

मिसन ग्रासरुट : प्रदेशस्तरी समीक्षा बैठक कर्णालीबाट सुरू, यस्ता छन् आजका गतिविधिहरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेकपा एमालेले आफ्नो पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिनाअघि सुरू गरेको मिसन ग्रासरुट अभियानको समापन चरण सुरू भएको छ ।

यसै सन्दर्भमा आजदेखि अभियानको समीक्षा सुरू भएको छ । समीक्षा बैैठकमा अभियानका लागि प्रतिनिधिका रूपमा खटिएका नेताहरूले हालसम्मको कार्यप्रगतिको रिर्पोटिङ गर्ने बताइएको छ ।

साथै देशका विभिन्न जिल्लाहरूमा आज पनि कार्यक्रमहरू भएका छन् ।

अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

सुर्खेत

नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियानको कर्णाली प्रदेशस्तरीय समीक्षा बैठक आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरू भएको छ । एमाले कर्णाली प्रदेश संगठन कमिटीको संयोजन रहेको समीक्षा बैठक भोलिसम्म चल्ने छ ।

बैठकमा कर्णालीका दशवटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले रिपोर्टिङ गर्नुहुनेछ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु यामलाल कँडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेको उपस्थिति रहेको छ ।

केन्द्रीय र जिल्ला प्रतिनिधिहरुले रिपोर्टिङ गरिसकेपछि केन्द्रीय नेताहरुले आफ्नो धारणा राख्नुहनेछ । एमालेले संगठन सुदृढीकरणका लागि फागुन ५ गतेदेखि दुई महिने मिशन ग्रासरुट अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत केन्द्रीय सदस्यहरुलाई गाउँपालिका तथा नगरपालिकामा खटिनुभएको छ ।

तनहुँ

नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्यालले मुलुकमा परिवर्तन र विकासको नेतृत्व गरेकै कारण मंसिर ४ गतेको निर्वाचनबाट एमाले जनताको लोकप्रिय पार्टी बनेको बताउनुभएको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत प्रेस चौतारी नेपाल तनहुँले आयोजना गरेको कार्यक्रममा सचिव अर्यालले तत्कालीन सत्ताधारी दलहरूले महागठबन्धन बनाएर एमाले सिध्याउन हरेक कोशिस गरे पनि जनताको बलमा एमाले घेराबन्दी तोड्न सफल भएको धारणा राख्नुभयो ।

देशमा सत्तासिन गठबन्धनका नाममा एमाललेलाई हराउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको उहाँको भनाइ छ । एमाले जनताको पार्टी भएको र विभिन्न परिवर्तन तथा विकासको नेतृत्व गरेकै कारण सम्पूर्ण घेराबन्दी तोड्न सफल भएको अर्यालको धारणा थियो । गएको चुनाव देशमा परिवर्तनकामी शक्ति र परिवर्तनविरोधी शक्तिकोबीचमा प्रतिस्पर्धा भएको बताउँदै उहाँले एमालेले परिवर्तनको नेतृत्व गरेको र गठबन्धनका दलहरुले परिवर्तन विरोधीको नेतृत्व गरेको बताउनुभयो ।

एमाले लोकप्रिय पार्टी भएकै कारण वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ–१ सहित तीन वटै क्षेत्रमा एमालेले जित हासिल गर्ने तर्क सचिव अर्यालको छ ।

रोल्पा

मिसन ग्रासरूट अभियानअन्तर्गत रोल्पाको जिल्लास्तरीय अन्तिम समीक्षा बैठक तथा प्रतिबेदन तयारी बैठक सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य खेममान खड्काको प्रमुख आतिथ्यता र बलाराम बुढामगरको अध्यक्षतामा त्रिबेणीको नुवागाँउमा बैठक बसेको हो ।

बैठकमा पार्टी केन्द्रीय सदस्य जीवन गौतम, हरि रिजाल लगायत प्रदेश र जिल्लाका नेताहरूसमेत सहभागी हुनुहुन्थ्यो । बैठकमा सहभागी सबै केन्द्रीय सदस्यहरुले अभियानको सन्दर्भमा भए गरेका कामहरू, आ–आफ्ना अनुभुतीहरु र आगामी कार्ययोजना अन्तर्गत गर्नुपर्ने कामहरूकाबारेमा निर्देशनात्मक मन्तब्य राख्नु भएको थियो ।

बैठकले रोल्पामा अभियान बैशाख मसान्तसम्म संचालन गर्ने जसअन्तर्गत बैशाख २० गतेसम्म सबै पालिकाहरुमा पार्टी सदस्यहरु र जन संगठनहरुको भेला, बैठक, प्रशिक्षण तथा कमिटी पुनर्गठन तथा गठन गर्ने, केन्द्रीय कार्यालयसँग समन्वय गरी पार्टी अध्यक्ष केपि शर्मा ओलीको उपस्थितिमा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ ।

पाल्पा

पाल्पामा मिसन ग्रासरूट अभियानको समीक्षा बैठक सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यता र धनेन्द्रराज घिमिरेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा पालिकाका पार्टी अध्यक्षहरुले अभियानका हालसम्मको प्रगतिकाबारेमा रिर्पोटिङ गर्नुभएको थियो ।

नुवाकोट

नुवाकोटको तार्केश्वर गाउँपालिकामा पालिका कमिटी र सबै वडाका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तार्केश्वर गाउँपालिकामा केन्द्रीय प्रतिनिधिका रूपमा समेत खटिनुभएकी पार्टी केन्द्रीय सदस्य शर्मिला कार्की, प्रदेश अध्यक्ष केशव पाण्डे लगायत नेताहरूको पनि आतिथ्यता थियो । कार्यक्रममा नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

तनहुँ

तनहुँको भानु नगरपालिका १, ८ र ११ मा मिसन ग्रासरूट तथा उपनिर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको आतिथ्यतामा वडा नम्बर १ को साखेटार, वडा नम्बर ८ को देउरालीटार र ११ को टुहुरे पसलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नवलपुर

मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुर जिल्लाको देवचुली नगरपालिकामा समीक्षा बैठक सम्पन्न भएको छ । देवचुली नगरकमिटीले आयोजना गरेको बैठक पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकमा प्रदेश कमिटी सदस्यहरु, नगर प्रमुख हरि प्रसाद न्यौपाने, जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकले अभियान उपलब्धिमुलक रहेको निष्कर्ष निकालेको छ ।

लमजुङ

मिसन ग्रासरूट अभियानअन्तर्गत लमजुङको राइनाश नगरपालिकामा समीक्षा बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य सम्झना देवकोटाको प्रमुख आतिथ्यता र नगरकमिटी अध्यक्ष पूर्ण गुरूङको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा प्रदेश सचिवालय सदस्यहरू मोहनहरि पौडेल, सिंहबहादुर थापा, रन्जित कुमाल लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

पालिका कमिटीले आयोजना गरेको समीक्षा बैठकमा हालसम्मका कार्यप्रगतिको समीक्षा गरिएको थियो । यसैगरी, लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ४ मा वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले केन्द्रीय सदस्य मिनाकुमारी गुरुङको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा एमाले बेशीशहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्ट लगायतका नेताहरुको उपस्थिति थियो ।