२९ आश्विन २०८३, बिहिबार

मिसन ग्रासरुट अभियान : भोलिदेखि प्रदेशस्तरमा समीक्षा बैठक बस्दै, कुन प्रदेशमा कहिले ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेकपा एमालेले आफ्नो पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिनाअघि सुरू गरेको मिसन ग्रासरुट अभियान अब समापनको चरणमा पुगेको छ ।

यसै सन्दर्भमा भोलिदेखि अभियानको समीक्षा सुरू हुँदैछ ।

अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

काठमाडौं

मिसन ग्रासरूट अब समापन उन्मुख रहेको छ । केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्य, प्रदेश,जिल्ला सदस्यहरूलाई भूगोलमा जिम्मेवारी दिएर पार्टीले विभिन्न प्रदेश, जिल्ला र पालिकामा पठाएको थियो । अभियान सुरु भएको बैशाख पाँच गते दुई महिना पुग्दैछ । सबै पालिका र मातहतका कमिटीका बैठकहरू सकिएका छन् ।

यसैबीच, मिसन ग्रासरुटको समीक्षा बैठक कर्णाली प्रदेशमा भोलीबाट सुरु हुदैछ । कर्णालीमा समीक्षा बैठक पर्सीसम्म जारी रहनेछ । यस्तै, लुम्बिनी प्रदेशमा ६ र ७, सुदुरपश्चिममा १० र ११ गते समीक्षा बैठकको मिति तय भएको छ ।

यसैगरी १२ र १३ गते गण्डकी, १४ र १५ गते मधेस प्रदेशमा समीक्षा बैठक हुनेछ । बैशाख १९ र २० गते बागमती, २१ गते सम्पर्क समन्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समीक्षा बैठकको तयारी छ । सबै प्रदेशको समीक्षा बैठक महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुनेछ । यस्तै, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि आवश्यकता अनुसार समीक्षा बैठकमा सहभागी हुनुहुने जानकारी दिइएको छ ।

लमजुङ

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वृद्धवृद्धा, अपांगता, दलित, एकल महिलालगायतले खाइपाइ आएको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कटौती गर्न लागेको बताउनुभएको छ । सरकारको गतिविधिले जनता त्रासमा रहेको भन्दै सामाजिक सुरक्षा भत्ता नरोक्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

नेकपा एमाले बेंसीसहर नगरपालिका–६, वडा कमिटीद्वारा आयोजित मिसन ग्रासरुटअन्तर्गत कार्यकर्ता भेला र शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकार जनताप्रति कुनै उत्तरदायी नदेखिएको धारणा राख्नुभएको हो । पहिले नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल मिलेर देशको ढुकुटी रित्याइसकेको टिप्पणी गर्दै उहाँले एमालेको सरकार रहँदा १ वर्ष पुग्ने मुद्रा सञ्चित गरेर राखेकोमा देउवा र प्रचण्ड मिलेर दोहन गरेका बताउनुभयो । देशलाई डुबाउन देशी, विदेशी शक्ति मिलेर एमालेलाई एक्ल्याउन खोजेको उहाँको भनाइ छ ।

एमाले केन्द्रीय सदस्य एवं लमजुङ सहइन्चार्ज जमिन्द्रमान घले, पार्टी केन्द्रीय सदस्य मीना गुरुङ, एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्मनाथ अधिकारी, पार्टी गण्डकी प्रदेश सदस्य एवं बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, पार्टी जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमाललगायतले मिसन ग्रासरुटबाट एमाले तल्लो तहमा पुगेको भन्दै पार्टीप्रति जनताको आकर्षण बढ्दो रहेको बताउनुभयो ।

सिन्धुपाल्चोक

नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा पद प्राप्तिका लागि विचलन देखिएको बताउनु भएको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै सचिव विष्टले ‘प्रचण्डमा पद प्राप्ती वा पद जोगाउनका लागि देखा परेको अवसरवाद राष्ट्रको समृद्वि र जनताको जीवन रूपान्तरणको लागि नभई नेपालको राजनीतिमा कालो धब्बाको रूपमा देखिने बताउनुभयो ।

सचिव बिष्टले कालो बादल पन्छाएर नेपालको राजनीतिलाई खुल्ला सफा आकाश जस्तो बनाउन जरुरी रहेको बताउनुहुँदै देशको आवश्यकतालाई भविष्यमा थप परिणाममुखी बनाउन एमालेकै प्रभावकारी भूमिका बिना सम्भव नहुने धारणा राख्नुभयो । सचिव बिष्टले मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउनुभयो । मिसन ग्रासरूट अभियानले समृद्ध नेपाल र सुखी नेपाली बनाउन एमालेलाई बलियो बनाउन आव्हान गर्नुभयो । अभियानले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउने विश्वास व्यक्त उहाँले अभियानले पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि थप प्रभाकारी हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पार्टीका अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्नाका साथै स्ववियुमा निर्वाचित टीमलाई बधाई तथा सम्मान समेत गरियो । कार्यक्रममा पोलिट्ब्युरो सदस्य अरुण नेपाल, केन्द्रिय सदस्यहरू सरेश नेपाल, निर्मल भट्टराई लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।

कास्की

नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले बुद्धिजीवीहरूले वैचारिक क्षेत्रको काममा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । मिसन ग्रासरुट अभियानअन्तर्गत पेशागत महासंघ र बुद्धिजीवी परिषदले पोखरामा आयोजना गरेको पेसाकर्मी बुद्धिजीवी भेला तथा नयाँ वर्ष २०८० को शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले समाजमा अराजकता र अनुशासनहीनता बढ्दै गएकाले बुद्धिजीवीहरूले विचारको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको हो ।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा बुद्धिजीवी वर्गको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले समाजमा अराजकता र अनुशासनहीनता बढेको तथा संस्कार हराउँदै गएको सन्दर्भमा बुद्धिजीवीहरूले मूल्यमान्यता स्थापित गर्न समाजमा सकारात्मक सोचको विकास गर्न लगातार लाग्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पनि अभिमुखीकरण गर्नुभएको थियो ।

मोरङ

मिसन ग्रासरूट अभियानअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा ज्येष्ठ कम्युनिस्ट सम्मान र नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी स्थायी कमिटी सदस्य गुरू बरालको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको कार्यक्रममा १ सय २ जना ज्येष्ठ कम्युनिस्ट नेता कार्यकर्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अभियानका लागि केन्द्रीय प्रतिनिधिसमते रहनुभएकी पार्टी केन्द्रीय कमिटी सदस्य मीना पोखरेल उप्रेती लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।

प्युठान

मिसन ग्रासरूट अभियानअन्तर्गत प्युठानको झिमरूक गाउँपालिका वडा नम्बर–१ सौतामारेमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको पार्टी पोलिट्ब्यूरो सदस्य सूर्य थापाले उद्घाटन गर्नुभयो । पार्टी वडा कमिटी र राष्ट्रिय युवा संघ वडा कमिटीले आयोजना गरेको प्रतियोगितामा १२ वटा टीमले प्रतिस्पर्धा गर्नेछन् ।

यसैबीच, सोही क्रममा ८० वर्षमाथिको उमेर समुहका ज्येष्ठ नागरिक तथा पार्टीका अग्रज नेता कार्यकर्ताहरूलाई सम्मानसमेत गरिएको छ । उहाँहरूलाई पोलिट्ब्यूरो सदस्य थापाले सम्मान गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य इश्वरी जिएम, गिरीधारीलाल न्यौपाने लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।

यस्तै पोलिट्ब्यूरो सदस्य थापाकै प्रमुख आतिथ्यतामा झिमरूक गाउँपालिका वडा नम्बर–५, खोरपानी टोलमा शंकर जिसीको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । नवगठित कमिटीका पदाधिकारी र सदस्यहरूलाई पार्टी पोलिटव्युरो सदस्य थापाले गुलाबको फूल दिएर बधाई तथा सफल कार्य संपादनको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

रोल्पा

मिसन ग्रासरुट अभियानअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिकामा पालिकास्तरीय अन्तिम समीक्षा तथा फेरि भेट गरौंला कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य खेममान खड्काको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष प्रदीप डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट्ब्यूरो सदस्य खड्काले अभियानको पहिलो चरणले पार्टीको आन्तरिक जीवनमा रक्त सञ्चार पवाह गर्दै आम जनसमुदायमा पार्टीप्रतिको आकर्षण, भरोसा एवं माया बढाउन सफल भएको विश्वास व्यक्त गर्नुभयो ।

मिसन ग्रासरूट अभियान प्रारम्भ मात्र भएको बताउनुहुँदै उहाँले आगामी दिनमा नेकपा एमालेको एकल सरकार निर्माणपछी मात्र अभियानले बिश्राम लिने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी बज्रबहादुर आले मगर लगायत व्यक्तिहरू एमालेमा प्रवेश गर्नुभयो ।

कास्की

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १२, २० र २६ मा सपथ ग्रहण, ज्येष्ठ कम्युनिष्ट सम्मान र नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडा नम्बर १२ का ४६ जना, २० का ९५ जना र वडा नम्बर २६ का ३४ जना जेष्ठ कम्युनिस्टलाई सम्मान गरिएको केन्द्रीय सदस्य अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा नेताहरूले अभियानकाबारेमा प्रशिक्षणसमेत दिनुभएको थियो ।

मुस्ताङ

मिसन ग्रासरूट अभियानअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कमिटीको विस्तारीत वैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य श्रीमाया थकालीको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष रिङजीन नामगेल गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा केन्द्रीय सदस्य थकाली, गोविन्दबहादुर नेपाली र जिल्ला अध्यक्ष कमरेड आश वहादुर थकालीले अभियानको आवस्यकता र महत्वकाबारेमा दिशानिर्देश गर्नुभएको थियो । बैठकले वैशाख २३ गतेवाट सुरु हुनेगरी वडास्तरको विस्तारीत वैठक आयोजना गर्ने, सदस्यता नवीकरण तथा विस्तारको काम अगाडि बढाउने, जनसंगठनको पालिकास्तरको बैठक राख्ने र वैशाख २५ गते पालिकास्तरको समीक्षा वैठक आयोजना गर्ने कार्ययोजना निर्माण गरिएको छ ।

बैठकले पार्टीकोतर्फबाट निर्वाचित गाउँ पालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ र उपाध्यक्ष ढिकी गुरुङ उपनेता रहनुभएका २० सदस्यीय सभादलसमेत गठन गरेको छ ।

गोरखा

मिसन ग्रासरुट अभियानअन्तर्गत गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ३, ५ र ७ मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश कमिटी सचिवालय सदस्य सुरेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला कमिटी सदस्यद्वय सुक घले र सन्त गुरुङ लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।

रामेछाप

यसैबीच, रोमछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर–७ मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटीले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङ, रत्न गौतम, केशर बुढाथोकी, पालिका कमिटी अध्यक्ष प्रेम लामा लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । भेलामा टोलस्तरमा पार्टीले आगामी दिनमा सञ्चालन गर्ने गतिविधिको योजनासमेत बनाएको छ ।