
काठमाडौं, २ वैशाख । नेकपा एमालेले दुई महिनादेखि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अब समापनउन्मुख छ ।
गत फागुन ५ गतेदेखि सुरू भएको अभियान यही वैशाख पहिलो हप्ता समापन गर्ने तयारी छ । कतिपय जिल्लामा अभियान सम्पन्न भएर समीक्षा र प्रतिवेदन निर्माणको काम भइरहेको छ भने कतै–कतै अन्तिम चरणका कार्यक्रमहरू भइरहेका छन् ।
यसै सन्दर्भमा आज गोरखा, कैलाली, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, चितवन, बारा र तनहुँलगायत जिल्लाहरूमा कार्यक्रम भएका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
गोरखा
गोरखाको भिमसेन थापा, आरूघाट, धार्चे र चुमनुम्ब्री गाउँपालिका कमिटीको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता र प्रदेश समन्वय कमिटीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्यद्वय तिलक महत र किशोर बिक्रम मल्ल, बुद्धिजीवि परिषदका केन्द्रिय अध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, पार्टी जिल्ला अध्यक्ष प्रेम गुरुङ, प्रदेश सचिवालय सदस्यहरू बाबुराम थापा, सुरेन्द्र थापा लगायत नेताहरूसमेत सहभागी हुनुहुन्थ्यो ।
कैलाली
नेकपा एमालेका नेताहरूले एक–अर्कालाई सिस्नो लगाएर सुदूरपश्चिमको मौलिक पर्व बिसु र नयाँ वर्ष मनाउनुभएको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी धनगढीमा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मञ्चमा रहेका नेताहरूलाई सिस्नो लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । पौडेलले सिस्नो लगाएपछि अरू नेताहरूले पनि एक–अर्कालाई सिस्नो लगाउनुभएको थियो ।

मञ्चमा नेताहरूबीच सिस्नो लगाउने होड चलेपछि हलमा रहेका कार्यकर्ताबीच पनि एकअर्कालाई सिस्नो लगाउने प्रतिस्पर्धा चलेको थियो । बिसु पर्व सामाजिक एकता कायम गर्न महत्वपूर्ण हुने थाहा पाएपछि आफूले नै कार्यक्रम आयोजना गर्न सल्लाह दिएको उपाध्यक्ष पौडेलले बताउनुभयो ।
वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने यो पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउन आफूले पहल लिने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयो । सुदूरपश्चिमका नेताबीचको आपसी एकता कायम रहेमा यो प्रदेशमा एमाले एक नम्बर पार्टी बन्ने पौडेलको विश्वास छ । कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले बिसु पर्वको औचित्यबारे प्रकाश पार्दै यो पर्व सुदूरपश्चिम, कर्णालीका साथै भारतका कुमाउ गढवालतिर पनि प्रसिद्ध रहेको बताउनुभयो ।
मकवानपुर
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो सरकारका कारण देश चरम आर्थिक र राजनीतिक सङ्कटमा फसेको बताउनुभएको छ । मिसन ग्रासरुट अभियानअन्तर्गत हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारकै कारण देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको र कर्मचारीलाई तलब खुवाउन समेत वैदेशिक ऋण लिनुपर्ने अवस्थामा पुगेको बताउनुभएको हो ।

उहाँले सरकार चलाउन र कर्मचारीलाई तलब खुवाउनकै लागि ऋण लिनुपर्ने स्थिति उत्पन्न हुनु मुलुकका लागि खतराको सङ्केत भएको टिप्पणी समेत गर्नुभयो । कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने, खर्च र आम्दानीको बीचमा दुई खर्बको अन्तर हुनु, आम्दानी भन्दा खर्च दुई खर्ब ज्यादा हुनुले मुलुकको आर्थिक अवस्था सङ्कटमा फसिसकेको स्पष्ट हुने उहाँको धारणा छ ।
महासचिव पोखरेलले देश सङ्कटबाट गुज्रिरहनुको मुख्य कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस र माओवादीले अवलम्बन गरेको १५ महिनाको आर्थिक क्रियाकलापको परिणामले देश आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउनुभयो ।
सिन्धुपाल्चोक
मिसन ग्रासरूट अभियानअन्तर्गत सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा इन्द्रवती गाउँपालिकाको समृद्वि र नागरिकको अपेक्षा विषयक अन्तरक्रिया, विशिष्ठ व्यक्तित्व सम्मान तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महागरपालिका–३३ नम्बर वडा कमिटीले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री बितरण गरेको छ । प्रदेश कमिटी सचिवालय सदस्य टिकाराम पंगेनीको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष दीपकराज लामिछानेको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच तोरी पेल्ने चौतारामा अवस्थित जनज्योति आधारभुत विद्यालयका ५० जना विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य शिवप्रसाद आचार्य, एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, जिल्ला कमिटी सदस्य कुल बहादुर रानाभाट लगायत नेताहरू र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुष्पराज अधिकारीले मन्तव्य राख्नुभएको थियो ।
चितवन
नेकपा एमालेका सचिव योगेश भट्टराई चितवन २ मा एमालेबाट उम्मेदवार रहनुभएका रामाँप्रसाद न्यौपानेलाई उपनिर्वाचनमा जिताउन मतदाता भेटघाट अभियानमा सहभागी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन–२ मा उम्मेदवार न्यौपानेले मतदाताको गुनासो सुन्दै घरदैलोलाई तीव्र बनाउनु भएको छ । न्यौपानेले चितवनको क्षेत्र नम्बर २ मा पर्ने प्रत्येक गाउँमा पुगेर स्थानीय मतदाताको गुनासो सुन्ने गर्नुभएको हो ।

यसैक्रममा न्यौपानेले आज भरतपुर महानगरपालिकाको वडा नम्बर २९ र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा घरदैलो गर्नुभयो । उम्मेदवार न्यौपानेले घरदैलोका क्रममा मतदाताहरूले गरेको गुनासो सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ । अघिल्लो पटक भएको गल्तीलाई सुधार्नका लागि पनि यो उपनिर्वाचन महत्वपूर्ण हुने न्यौपानेले बताउनु भयो ।
स्थानीयले न्यौपानेसँग खानेपानी, सडक, स्वास्थ्य र शिक्षाका बारेमा गुनासा गरेका थिए । न्यौपानेले यसअघि एमालेबाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले चितवन २ मा धेरै कामहरू गरेको उल्लेख गर्नुभयो । यस क्षेत्रमा बाँकी रहेका स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत जनताको समस्या सम्बोधन गर्न आफू हरदम तयार रहेको न्यौपानेको भनाइ थियो ।
बारा
बैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहनुभएका नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले बारा क्षेत्र २ मा आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ । चुनावी अभियान अन्तर्गत पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताउनुभयो ।

नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले मधेसको मुद्धा उठाएर चुनाव जित्नेहरूको दिन अब सकिएको धारणा राख्नुभयो । उहाँले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताउनुभयो ।
बारा २ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रूपमा प्रयोग गर्न केही नेताहरू चुनावी मैदानमा देखिएको भन्दै उम्मेदवार पौडेलले अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने विश्वास व्यक्त गर्नुभयो । चुनावी सभामा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई, पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेशसभा सदस्य देवनारायण चौधरीलगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
तनहुँ
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दश दिनमात्रै बाँकी रहँदा तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेकपा एमालेका सर्वेन्द्र खनाल घरदैलोमा व्यस्त हुनुहुन्छ ।

खनाल आफ्ना योजना लिएर मतदाता सामु पुगिरहनुभएको हो । पूर्व प्रहरी महानिरीक्षकसमेत रहनुभएका खनालले तनहुँ आफ्नो जन्मभूमिसमेत रहेकाले जनताका सेवाका लागि चुनावी मैदानमा होमिएको बताउनुभयो ।















प्रतिक्रिया