
काठमाडौं, २ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निलम्बनमा परेका ढाकाकुमार श्रेष्ठलाई अदालतबाट क्लिन चिट लिएर आए पार्टीमा पुन: स्वागत गर्ने बताएका छन् ।
शनिबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले क्लिन चिट लिएर आए पुन पार्टीमा स्वागत गर्ने बताएका हुन् ।
उनले यो यात्रा एकजनाको मात्रै यात्रा नभएको भन्दै यात्रालाई नअल्मल्याउन पनि ढाकाकुमारलाई आग्रह गरेका छन् । लामिछानेले अडिओ काण्डमा अन्य पार्टीका नेताहरूलाई पनि ढाकाकुमार आक्षेप लगाउन सक्ने आशंकामा सो आग्रह गरेका हुन् ।
‘यो यात्रा एकजनाको यात्रा होइन । लाखौँ जनताको यात्रा हो । भोलि अदालतबाट क्लिन चिट लिएर आउनुभयो भने फेरि स्वागत गरौँला । यो यात्रालाई नअल्मल्याउनुस्,’ सभापति लामिछानेले भने ।
लामिछानेले अन्य पार्टीले आरोपमा मुछिएका आफ्ना नेताहरूलाई बचाएका तर रास्वपाले ७२ घण्टाभित्रै कारबाही गरेर देखाएको बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि समानुपातिक सांसद ढाकाकुमारलाई रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निलम्बन गरेको थियो ।















प्रतिक्रिया