२९ आश्विन २०८३, बिहिबार

मिसन ग्रासरुट अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेकपा एमालेले दुई महिनादेखि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज पनि सुर्खेत, गोरखा, काठमाडौं, कालिकोट, सल्यान र बारालगायत जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू भएका छन् ।

गत फागुन ५ गतेदेखि सुरू भएको अभियान वैशाख पहिलो हप्ता समापन गर्ने तयारी छ । कतिपय जिल्लामा अभियान सम्पन्न समेत भइसकेका छन् ।

अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

सुर्खेत

मिसन ग्रासरूट अभियानअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आगामी बैशाख ४ र ५ गते कर्णाली प्रदेशको समिक्षा बैठक बस्ने भएको छ ।

पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यता र महासचिव शंकर पोखरेलको आतिथ्यतामा बैठक बस्न लागेको कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिनुभएको छ ।

गोरखा

मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखाको छेपेटारमा नेकपा (एमाले) निर्वाचन क्षेत्र नम्बर– २ समन्वय कमिटीको आयोजनामा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसको भ्रातृ संगठन तरुणदलका युवा नेता सुदीप थापा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो ।

काठमाडौं

मिसन ग्रासरुट अभियानअन्तर्गत काठमाडौं जिल्लाको समीक्षा बैठक सम्पन्न भएको छ । पार्टी सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै सचिव बिष्टले एमालेविरूद्व देशी विदेशी प्रतिक्रियावादी शक्ति लागि परेको बताउँदै पार्टी संगठन बलियो र प्रभावकारी बनाउन सके त्यस्ता प्रतिक्रियावादी र जनविरोधी तत्वलाई सहजै परास्त गर्न सकिने बताउनु भयो ।

उहाँले मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउनुहुँदै मुलुकमा राजनीतिक स्थायित्व र विकास एमालेबिना सम्भव नहुने धारणा राख्नुभयो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि एमालेलाई बलियो बनाउन उहाँले आव्हान गर्नुभयो । मिसन ग्रासरूट अभियानले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । बैठकमा पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्त लगायतका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।

कालिकोट

कालिकोटमा मिसन ग्रासरूट अभियानको समापन गरिएको छ । अभियान समिक्षासँगै अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय नेताहरूलाई स्थानीय पार्टीका नेता कार्यकर्ता र स्थानीयले आज बिदाई गर्नुभएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिको रूपमा खटिनुभएका पार्टी केन्द्रीय सदस्य दल रावल लगायतका नेताहरूलाई कालिकोटबाट एक कार्यक्रमकाबीच बिदाई गरिएको हो । केन्द्रीय सदस्य रावलले कालिकोटमा अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुहुँदै साथ दिनुहुने स्थानीय नेता कार्यकर्ता र कालिकोटका जनतालाई धन्यवाद दिनुभयो ।

सल्यान

मिसन ग्रासरूट अभियानअन्तर्गत सल्यानको खलंगामा समिक्षा बैठक सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा बैठक बसेको हो ।

बैठकमा हालसम्मका कामहरूको समिक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कामहरूकाबारेमा छलफलसमेत गरेको छ ।

बारा

आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेकातर्फबाट बारा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहनुभएका पुरुषोत्तम पौडेलले घरदैलो र प्रचारप्रसारको कामलाई तीव्र पार्नुभएको छ ।

बारा–२ मा पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान र निर्वाचन प्रचारप्रसारलाई एकैसाथ अघि बढाइएको छ । एमाले पोलिटब्युरो सदस्य एवम् मधेश प्रदेश सह–इञ्चार्ज समेत रहनुभएका पौडेलको पक्षमा असाधारण माहोल बन्दै गएको नेकपा एमाले बाराले जनाएको छ । २०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले पनि अहिलेको चुनाव एमालेका लागि सहज भएको एमालेको भनाइ छ ।

पौडेलको चुनावी अभियानलाई ऊर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा पुग्नुभएको थियो । उहाँको आगमनपछि त्यहाँको माहोल असाधारण रुपले वृद्धि भएको हो ।

चितवन

उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. २ नेकपा एमालेको तर्फबाट उम्मेदवार रहनुभएका रामप्रसाद न्यौपानेले आफूले जनताको असल प्रतिनिधि भएर सेवा गर्न चाहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका–१ मा गरिएको घरदैलोका क्रममा उहाँले एमालेले देश र जनताका पक्षमा दूरगामी महत्व राख्ने काम गर्ने बताउँदै आफूले पनि समाजमा राम्रो काम गरेर असल जनप्रतिनिधि बन्न चाहेको बताउनुभएको हो ।

यसअघि निर्वाचिन सांसदले रामनगरमा एक महिनाभित्रै खानेपानी ल्याउने भनेर बाचा गर्नुभएको भए पनि रामनगरका जनताको खानेपानीको समस्या समाधान अझै नभएको बताउँदै न्यौपानेले एमालेका तत्कालीन सांसद कृष्णभक्त पोखरेलको पालामा छुट्याइएको बजेट आफू निर्वाचित भएर गएपछि कार्यान्वयन गरी खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।