काठमाडौँ, ९ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १०४औँ जन्मजयन्तीका अवसरमा उहाँले विसं १९९० मा लेखेको ‘भूकम्प’ कवितालाई गीति क्यासेट बनाई सार्वजनिक गरिएको छ ।
सो गीतमा डा लोचन रिजालको स्वर र सङ्गीत छ । युगकवि सिद्धिचरण श्रेष्ठ स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् उहाँका सुपुत्र रविचरणले राणा शासनविरुद्ध सिद्धिचरणलगायतले क्रान्तिकारी लेखनको माध्यमबाट तत्कालीन समाजलाई नयाँ चेतना दिएपछि विभिन्न नेताले राजनीतिक आन्दोलन गरी विसं २००७ मा प्रजातन्त्र स्थापना गरेको स्मरण गर्नुभयो ।
नेपाली काँगे्रसका नेता एवं साहित्यकार पुरुषोत्तम बस्नेतले युगकवि श्रेष्ठले नेपाली साहित्यमा नयाँ आयाम थपेको विचार व्यक्त गर्दै मुलुकमा विनाशकारी भूकम्प गएका कारण उहाँको जन्मजयन्तीलाई औपचारिक रुपमा तीन दिनसम्म मनाउने कार्यक्रमलाई स्थगन गरिएको बताउनुभयो ।
सो अवसरमा डा मोहन लोहनी, डा उषा ठाकुर, महेश पौडेल, रमेश दुवाललगायतले कविता वाचनसमेत गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानमा रहेको उहाँको सालिकमा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित, साहित्यकार, परिवारजन तथा सर्वसाधारणले माल्यार्पण तथा पुष्पगुच्छा चढाउनुभएको थियो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवद्र्धक श्रेष्ठको जन्म विसं १९६९ मा ओखलढुङ्गामा र निधन विसं २०४९ मा काठमाडौँमा भएको थियो । उहाँका नेपाली र नेपाल भाषामा करिब चार दर्जन कृति प्रकाशित छन् । युगकवि श्रेष्ठले रचना गरेको ‘हिमगिरि मण्डित सुगन्ध शोभित जय जय आमा नेपाल’ गीत तत्कालीन समयमा लोकप्रिय थियो । रासस















प्रतिक्रिया