२८ आश्विन २०८३, बुधबार

‘नीति’विहीन कांग्रेस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन ।

१४औं महाधिवेशनबाट नेतृत्व चयन गरेर पार्टीको नीतिका लागि ६ महिनाभित्र छुट्टै अधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको १६ महिना बित्दासम्म कांग्रेस नीतिविहीन अवस्थामा छ । नीति निर्धारण नहुँदा कांग्रेसको मार्गदिशा नै अनिश्चित बनेको छ ।

कांग्रेसले १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई चयन गरेको थियो भने पार्टीमा उपसभापति दुईसहित महामन्त्री दुई र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना सहमहामन्त्री निर्वाचनमार्फत चुनेको थियो ।

यस्तै, कांग्रेसले १४औं महाधिवेशनलाई नेता र नेतृत्व छान्ने महाधिवेशनका रूपमा लिएर नीति तय गर्न विधानमा भएको सुविधालाई प्रयोग गर्दै ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस विधानको दफा १७ (५) मा केन्द्रीय महाधिवेशनको कार्यविधि उल्लेख छ । जसमा ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्ने र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महधिवेशन गर्न सकिने छ,’ भनिएको छ ।

विधानमा भएको सो व्यवस्थालाई टेकेर कांग्रेसले २८ कात्तिक २०७८ सालमा बसेको केन्द्रीय समिति बैठकमार्फत १४औं महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ केन्द्रित गर्ने र ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार महाधिवेशनमार्फत पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन गरिएको थियो ।

नीति महाधिवेशनका लागि कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई दबाब दिंदै आए पनि पार्टीको नेतृत्व सम्हालेका देउवाले नीति अधिवेशन’ कुनै ठोस् कदम चाल्न सकेका छैनन् ।

महामन्त्रीद्वय थापा र शर्माले नीति महाधिवेशन, विभाग गठनलगायतका सांगठनिक संरचनालाई पूर्णता दिने विषयसहित पार्टीका आन्तरिक जीवनलाई गति दिन भन्दै सभापति देउवालाई १ वर्ष अघि नै दबाब दिएका थिए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसको नेतृत्वमा नै नीति महाधिवेशनका विषयमा चासो नदेखिएको बताए । ‘कांग्रेसले नीतिलाई प्राथमिकतामा राख्नु पथ्र्यो, तर नेतृत्वलाई प्राथमिकतामा राख्यो, पार्टीलाई ड्राइभ गर्नेकै चासो नीति बनाउनेतर्फ देखिएन,’ राजनीतिक विश्लेषक आचार्यले राजधानीसँग भने ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अब बस्ने केन्द्रीय समितिले नीति अधिवेशनको मिति तय गर्ने जानकारी दिए । ‘अब बस्ने केन्द्रीय समिति बैठकले पार्टीको नीति अधिवेशन तोक्छ, सभापतिले त्यहीअनुसार तयारी गर्नुभएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले भने ।

यसैगरी, कांग्रेस नेतृत्वले पार्टी विधानलाई समेत वास्ता नगरी अघि बढेको पाइएको छ । कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पनि पूर्णता दिन सकेको छैन । पदाधिकारी पनि अपुरो छ । कांग्रेस कोषाध्यक्षविहीन छ । महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थालाई पनि नेतृत्वले बिर्सिएको छ । यस्तै, पार्टी प्रवक्ता रहेका नेता डा. प्रकाशसरण महत पनि मन्त्री बनेका छन् । उनी मन्त्री बन्दा प्रवक्ताको जिम्मेवारी अन्य कसैलाई दिएको छैन ।

यसैगरी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ । पार्टीका विभिन्न समिति र विभागसमेत गठन हुन सकेको छैन । देउवाले पार्टीको नीतिका विषयमा महत्वपूर्ण काम गर्ने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा भने उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइसकेका छन् । सो प्रतिष्ठानले समेत कांग्रेसको नीतिका विषयमा ठोस काम गर्न सकेको छैन ।

कांग्रेसका पार्टी संरचना मात्र होइन भ्रातृसंस्था पनि लथालिंग छन् । ३ फागुन २०७८ मा केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृसंस्थाको कार्यसमिति भंग गरेको थियो । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो । सभापति देउवाले ९ फागुन २०७८ मा नेविसंघ र तरुण दलमा सभापति मनोनित गरे पनि ती संगठनको महाधिवेशन हुन सकेको छैन । यस्तै, किसान संघलगायतका अन्य केही भ्रातृसंस्थालाई नेतृत्व दिए पनि अझै केही भातृसंस्था नेतृत्वविहीन छन् ।  आजको राजधानी दैनिकमा खबर छ ।