
काठमाडौं, २६ चैत । यहाँ आयोजित तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्यशृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासम्मेलनले जोड दिएको छ ।
वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ । नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता महासम्मेलनले गरेको छ ।
विशिष्टीकृत सहकारी संघमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन गर्ने जनाइएको छ ।
त्यसैगरी सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरूमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिबद्धता जनाइएको छ ।
अर्थतन्त्र जोगाउने सहकारीः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारो परेको बेलामा जोगाउने सहकारी भएको बताएका छन् । सम्मेलन समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताए ।
उनले भने, “अहिले सहकारी क्षेत्र जति बदनाम भएका छन, अब बदनामी हुन नपरोस ।” उनले बैंक, व्यापारी, उद्योगी समस्यामा भएको अवस्थामा साना पुँजी भएका सहकारी समस्यामा पर्नु स्वभाविक भएको भन्दै सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।
उनले सहकारीले अनुदानको अपेक्षा गर्न नहुने बताए । थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई कृषि क्रान्तिमा जोड्न सके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने उनको भनाइ छ । “खाना पाउनु मानिसको पहिलो अधिकार हो, अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ ।”
‘दिगोे विकासमा सहकारीको भूमिका महत्वपूर्ण’
सो अवसरमा आर्थिक क्षेत्रका विज्ञहरूले दिगोे विकासका लक्ष्य प्राप्तिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी सम्मेलनको तेस्रो दिनको कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले प्रत्यक्ष/अप्रत्यक्षरूपमा सहकारीबाट दिगोे विकासका लक्ष्य प्राप्तिसम्बन्धी काम भएको बताए ।
उनले भने, “नेपालले दिगो विकासमा मिश्रित किसिमको उपलब्धि हासिल गरेको छ, सहकारीको भूमिका १५औँ योजनामा समेत प्रष्टरूपमा खुलाइएको छ, सहभागितामा कुनै समस्या छैन, सरकारले नै सहकारीमार्फत हुनसक्ने दिगो विकासमा जोड दिएको छ ।” राज्यस्तरमा बुझाइ र समन्वयमा समस्या भए पनि सहकारी अभियानले दिगो विकासमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलेले सहकारीले दिगोे विकासका सबै लक्ष्य प्राप्ति गर्ने काम गरेको बताए । “सहकारी क्षेत्रले न्यून आय भएका वर्गमा आर्थिक उन्नति गर्नतर्फ प्रोत्साहन गरेको हुन्छ । जसले बजार गतिशील बनाउनका लागि भूमिका निर्वाह गरेको छ, पुँजीवादलाई बचाउनका लागि सहकारी आवश्यक छ, त्यसैले सामाजिक आयामलाई बलियो बनाउन सहकारीको भूमिका महत्वपूर्ण छ”, उनले भने।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारीले गरिब अन्त्य, रोजगारी र उद्यमशीलतालाई जोड दिएको बताए । सहकारीले गुणस्तरीय शिक्षाका लागि बिनाधितो कर्जा प्रवाह, सामाजिक असमानता न्यूनीकरण गर्न, शान्ति स्थापना गर्नका लागि सहकारी अग्रसर भएको उनको भनाइ छ ।















प्रतिक्रिया