
लुम्बिनी, २४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले राजनीतिकर्मीलाई असल राजनीतिक संस्कार समेत सिकाउने बताएका छन् ।
व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने मात्र नभई राजनीतिक संस्कार सिकाउन पनि खेलकुद महत्वपूर्ण मानिने अध्यक्ष ओलीको भनाइ छ ।
हिजो बहीबार लुम्बिनीमा आयोजित मदन भण्डारी स्पोटर्स एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहन्छ ।’ खेलकुदलाई वृहत् रूपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयनमा लैजान उनले आग्रह गरेका छन् ।

‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिस्पर्धी बनाउँछ । प्रतिष्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउँछ,’ अध्यक्ष ओलीले भने, ‘यसैले खेल व्यक्ति–व्यक्तिले खेल्न र स्वस्थ प्रतिस्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ ।’
अध्यक्ष ओलीले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको बताउँदै अब समृद्धिका लागि पनि खेल आवश्यक रहेको बताएका छन् । ‘खेल प्रतिस्पर्धाहरू बढाउनुपर्छ । खेलेर पनि समृद्ध बन्न सकिन्छ भन्ने बनाउनुपर्छ,’ उनले भने ।

उनले खेलसम्बद्ध संस्थाहरूले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने पनि बताएका छन् । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोट्र्स एकेडेमीबाट भएको बताउँदै यसलाई अझ विस्तार गर्न ओलीको सुझाव छ । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधैं प्राथमिकता दिएको बताउँदै खेल सम्बद्ध संस्थाहरूले पनि राज्यलाई झकझकाउनुपर्ने उनले बताए ।















प्रतिक्रिया