२८ आश्विन २०८३, बुधबार

एनजिओको गलत तालिमले भूकम्पमा थुप्रै मानिस मरे: डा. भाइकाजी तिवारी, प्रमुख, काठमाडौं नगर विकास समिति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vaikaji-tiwari1

भूकम्पपछि भएको क्षतिलाई कसरी लिनुहुन्छ ?

ग्रामीण भेगका जमिनमा बढी क्षति भए पनि शहरी क्षेत्रमा अलि कम भयो । हाम्रो नयाँ टेक्नोलोजीले धेरै जोगायो । राजधानीको बाक्लो बस्तीमै कम क्षति पर्न गयो ।

एउटा कुरा, घरको निश्चित आयु हुन्छ । कच्ची घर बढीमा ५० वर्ष र सिमेन्ट प्लास्टर्ड घर १ सय २० वर्षसम्म टिक्न सक्छ । घरको आयु सकिएपछि कि मर्मत गर्नुपर्छ, होइन भने भत्काउनु पर्छ । यसमा हामीले पटक्कै ध्यान दिन सकेनौँ । ग्रामिण भेगमा हजुरबुवाको पालाको घरमा बस्दै आएका छन् । हामीलाई पानी नचुहिने भएपछि पुग्यो । अरु कुराको ख्यालै गरेनौँ । सरकारको तर्फबाट जनतालाई चेतावनी दिने काम पनि भएन । न स्थानीय निकायले नै सोधीखोजी गरे । त्यसले पनि बढी क्षति पुर्‍यायो ।

एनजिओ, आइएनजिओहरुले भूकम्प आएपछि खाटमुनि लुक्नुपर्छ भनेर अपर्याप्त सूचना दिए । बारीमा काम गर्न गएकाहरु पनि खाटमुनि आएर मरेका थुप्रै उदाहरण छन् ।

यस्तो कुरामा सरकारले किन ध्यान नपुर्‍याएको होला त ?

विपत व्यवस्थापन र भूकम्प सम्बन्धी धेरैले तालिम लिए । कन्टेनर राखिएको खबर पनि सुन्यौँ । तर यी सब चीजहरु देखावटी भए । भूकम्प गयो भने एक लाखभन्दा बढी मर्छन्, २० लाखभन्दा बढी बिस्थापित हुन्छन् भन्ने हौवा थियो । त्यो हौवाको सरकारले जिम्मेवारी लिएको खै त ?

त्यस्तो भविष्यवाणी गर्नेहरुले त्यही अनुसारको पूर्व तयारीको लागि पनि दवाव दिन सक्नु पर्छ नि । एउटा कानले सुन्ने अर्कोले उडाउने भयो । जिम्मेवारीबोध कसैमा भएन । अझ एनजिओ, आइएनजिओहरुले त भूकम्प आएपछि खाटमुनि लुक्नुपर्छ भनेर अपर्याप्त सूचना दिए । यसले गर्दा बारीमा काम गर्न गएकाहरु पनि खाटमुनि आएर मरेका थुप्रै उदाहरण छन् ।

तपाईँले त शहरको पनि निरीक्षण गर्नुभएको होला । अहिलेकै अवस्थामा काठमाडौंमै केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प आयो भने, कति क्षति बेहोर्नुपर्छ ?

काठमाडौंका ५० प्रतिशत घर बस्नै नहुने गरी भत्कन्छन् । २५/३० प्रतिशत घरमा मर्मत गरेर बस्न सकिन्छ । सामान्यतया यस्तो आँकलन गर्न सकिन्छ ।

नेपालमा ८ रेक्टर स्केलसम्मको भूकम्प आउँदा पनि क्षति नपुग्ने घर निर्माण गर्न सकिदैन ?

८ रेक्टर त के १२ रेक्टर स्केलको भूकम्प आयो भने पनि जोगिन सकिन्छ । सन् १९६० मा चिलीमा संसारकै सबैभन्दा ठूलो भूकम्प गयो । भूकम्प गएकै केन्द्रबिन्दुमा अहिले संसारकै अग्लो घर बनाइएको छ । त्यहाँभित्रका मानिसले भूकम्प गएको समेत थाहा पाउँदैनन् । इन्जिनियरहरुले पेशागत धर्म निभाउने हो भने मान्छेलाई जति बलियो घर चाहिए पनि बनाउन सकिन्छ ।

नेपालमा पनि यस्तो सम्भव छ ?

अहिले हाम्रो सम्मेलन केन्द्र (संविधानसभा भवन) १० रेक्टरको भूकम्प आए पनि केही हुँदैन । नेपालमा पनि यसको स्रोतहरु छन् । कमजोरी कहाँनिर हो भने नेपालमा इन्जिनियर लगाएर डिजाइन गरायो भने डन्डी, सिमेन्ट बढी प्रयोग गर्न भन्छ र महंगो लाग्छ भनेर डकर्मीको भर परी घर बनाउँछन् । कसैले अलिकति जाने पनि ऊ सबै कुराको बिज्ञ भइदिन्छ ।

अहिले स्थानीय विकास मन्त्रालयले दुई तले भन्दा अग्लो घर बनाउन नदिने भनेको छ । कस्तो लाग्यो ?

मैले यसलाई ‘कन्सी देन्सी प्लान’ भन्छु । संसारका सबै ठाउँमा यस्तै गरिएको छ । तत्काल नगरी नहुने कामको लागि सरकारले यस्तो निर्णय लिएको हुनुपर्छ । जापानमा पनि यस्तै गरिएको थियो । तर कृषियोग्य खाली जग्गा र हरियाली चौर, वन जंगलहरु नासिँदै गएपछि ठूलो घर बनाउन अनुमति दिएको थियो । हाम्रो देशमा पनि आगामी दिनमा बिस्तार हुने शहर सुरक्षित हुनेछन् । त्यसको लागि सरकारले एक पाइला अगाडि बढेर निर्णय गर्नु पर्दछ । नयाँ प्लान ल्याउनुपर्छ । सरकारले सक्दैन भने स्थानीय निकायमा ‘लोकल एरिया डेभलभमेन्ट प्लान’को लागि निश्चित व्यक्तिको कमिटी गठन गरी त्यसमार्फत घरको स्वीकृत दिने नियम गराउनु पर्छ ।

नेपालमा भूकम्प आउँछ भन्ने त सबैलाई थाहा थियो । तर पनि सरकार किन यसतर्फ गम्भीर भएन ?

सरकार के विषयमा पो गम्भीर छ र ? संविधान सभाको दोस्रोपटक चुनाव भैसक्यो, अझै संविधान बनेको छैन । तपाईँ आफै सोच्नुस् न, को सरकार ? अहिले राहत वितरणमा किन समस्या पर्‍यो ? स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नै छैनन । जसले सक्यो त्यसैले राहत टिपेर हिँडेको छ । जनप्रतिनिधि भएको भए राहत र रकम घरघरमा प¥याइदिने थियो । अहिले एउटै घरमा १० वटासम्म पाल पुग्यो रे । तर दुरदराजका बास्तविक पीडितहरुले राम्रोसँग राहतनै पाउन सकेका छैनन् । किनकी उनीहरुको पहुँच राज्यसँग पुग्न सकेन ।

पोखरा लगायतको ठाउँमा निश्चित तलाभन्दा अग्लो घर बनाउन बन्देज लगाइएको छ । भूकम्पीय दृष्टिले काठमाडौंको भूभाग चाँहि कत्तिको बलियो छ ?

काठमाडौंमा २३ तलासम्मको घर स्वीकृत भैसकेको छ । जग महंगो पर्ने भएकाले पछि उसले स्वीकृतनै रद्द गरायो । हामी अग्ला घरहरु खतरामा छन् भन्छौँ तर त्यो होइन । चिलीमा भएको संसरकै अग्लो घरलाई, संसारकै सुरक्षित घर भनिएको छ । जापानमा अग्ला र होचा घरहरु सँगै छन् । जापानको सिंजुकी नगरपालिकाको भवननै अग्लो मध्ये पर्छ । त्यहाँ भूकम्प गए भूकम्पको अनुभव गर्ने घरहरु छन् । त्यहाँका घरहरुमा स्प्रिङ राखेर भूकम्प प्रतिरोधी गराइएको हुन्छ । प्रविधिको कुरा हो, यहाँ पनि त्यस्तो गर्न सकिन्छ ।

नेपालीहरु भूकम्पीय क्षतिबाट जोगिने उपाय के हुनसक्छ ?

जति पैसा छ, त्यही अनुसारको डिजाइन गरेर घर बनाउनु पर्छ । जोखिम किन आयो भने, मानिसले भाडाको लोभमा आवश्यकता भन्दा बढी तले घर बनाएका छन् । त्यो पनि अत्यन्त कमजोर । सरकारले घर भाडाको करलाई नियन्त्रणमा लिन सकेको छैन । भाडास्वरुप १० प्रतिशत कर सरकारको कर कार्यालयमा र २ प्रतिशत स्थानिय निकायमा तिर्नु पर्दछ । त्यो कर असुल गर्ने हो भने भाडामा दिने घरहरु निकै कम बन्छन् । अर्कोकुरा मानिसलाई आफ्नो घरको आयु निश्चित हुन्छ भन्ने नै थाहा छैन । यस्तो कुरालाई सच्याउनु पर्छ ।

पहिले मापदण्ड मिचेर बनाएका घर भत्काउनु भयो, अब फेरि धमाधम पुराना घरहरु भत्काउन लाग्नुपर्ला जस्तो छ, हैन ?

अब आकाश मिच्नेको घर काट्नु पर्दछ । हिजोको दिनमा जमिन मिच्नेलाई कारबाही भएको छ, अव आकाश मिच्नेलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्छ । यस विषयमा सरकारले कडाभन्दा कडा नोटिस जारी गर्नुपर्दछ । पाँच तलाभन्दा अग्लो गराउँदिन भनेको घर, नौ तलाभन्दा अग्लो बनाइएको छ । हामी टुलुटुल हेरेर बस्ने अनि फेरि भत्कियो भने उद्दार गर्न जाने ? यस्तो पनि हुन्छ ? सरकार सडक विस्तारमा जसरी उभिएको थियो, यसमा पनि त्यस्तै बलियो बन्नुपर्दछ । अब हामीले सोचमा परिवर्तन गर्नै पर्छ । घरको आयु तोकिदिनु पर्दछ । पुरानालाई शिलबन्दी गरी हटाउन, भत्काउन वा नयाँ बनाउन आदेश दिनु पर्दछ ।

प्रस्तुति : विश्वास खड्काथोकी / दैनिक नेपाल