२९ आश्विन २०८३, बिहिबार

कागेश्वरी मनोहरामा मृत्युपश्चात ४२ जनाको अङ्गदान घोषणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्युपश्चात अङ्गदान घोषणा गरेका छन् । थलीमा भएको कार्यक्रममा मृत्युपश्चात पनि आफ्नो शरीरका विभिन्न अङ्ग अन्य आवश्यक परेका व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मिल्ने भएपछि ४२ जनाले मृत्यु पश्चात अङ्ग र २३ जनाले आँखा दान दिने भएका हुन् ।

नगरपालिकाको व्यवस्थापन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा “स्वस्थ जीवन रक्तदान, मृत्यु पश्चात अङ्गदान घोषणा’ कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापासमेत ४२ जनाले मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरे । नगरप्रमुख कार्कीले मृत्युपश्चात आफ्नो शरीरका विभिन्न अङ्ग काम लागेमा दान गर्दा पुण्यको काम हुने बताए । आफूले धर्ती छाडे पनि आफ्ना विभिन्न अङ्गले अन्य बिमारी मानिसको स्वास्थ्य बचाउन सकिन्छ भने अङ्गदान महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

नगरप्रमुख कार्कीले भने, “नेपाली समाजमा मृत्युपश्चात जलाउने र गाड्ने खालको परम्परा रहेको छ । अग्निदाह गर्नुपूर्व अङ्गदान गर्न आवश्यक रहेछ । मैले पनि मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेँ, तपाईंहरू पनि मृत्युपश्चात अङ्ग दान गर्नुहोस् । हामीले दान गरेको अङ्गबाट धेरै नेपालीले अकालमा ज्यान गुमाउने समस्याको मुक्ति पाउनेछन् ।”

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै राष्ट्रियरूपमा अभियान चलाउने प्रतिबद्धता जनाए । निर्देशक श्रेष्ठले मृत्यु भएको एक जनाको शरीरबाट हाल नेपालमा दुई मिर्गौला, दुई फोक्सो, कलेजो, मुटु, प्यानक्रियाज, सानोआन्द्रा गरी कूल आठ अङ्गदान गर्न मिल्ने जानकारी दिए । उनले एक जनाको मृत शरीरबाट आठ जनासम्मको ज्यान बचाउन सकिने भएका कारण मृत्युपश्चात सबैलाई अङ्गदान घोषणा गर्न अनुरोध गरे ।

निर्देशक श्रेष्ठले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तारकेश्वर नगरपालिका र धुलिखेल नगरपालिकासँग सहकार्य गरिसकेको भन्दै कागेश्वरी मनोहरा नगरपालिकासँग पनि सहकार्य गर्न पाउँदा खुसी रहेको बताए । उनले आगामी दिनमा देशभरिका स्थानीय तहसँग सहकार्य गर्ने तयारी गरेको जनाए ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा सभापति श्यामकाजी डोटेलले रक्तदान जीवनदान भन्दै रगत दान दिने व्यक्तिहरू धेरै रहेका बताए । उनले रेडक्रस सोसाइटीको रक्तदान कार्यक्रम जनतामा प्रभावकारी बनेको धारणा राखे ।

जिल्ला सभापति डोटेलले रगत दान मात्र नभएर हाल रेडक्रस सोसाइटीले आँखा दान केन्द्र सुर्खेत र जनकपुरमा रेडक्रसले आँखा दान केन्द्र सञ्चालनमा ल्याउन सफल भएको जनाए । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा सभापति वासुदेव पौडेलले यस शाखाले विगतमा नगरभित्रका स्थानीयवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउँदै आएको जानकारी दिए । उनले मृत्यु भएपश्चात अङ्गदान गर्नु सबैका लागि राम्रो, सकारात्मक र धार्मिक कार्य भएकाले यसमा सहभागी हुन अग्रह गरे ।