
काठमाडौं, २१ चैत । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षाको डेडिकेटेड फोर्स बनाउनुपर्ने बताएका छन् ।
आज मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका साथै वरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बिओपीहरूको स्थापना, मौजुदा बीओपीहरूको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवम् चलायमान बनाउनुपर्ने बताएका हुन् ।
उनले सशस्त्र प्रहरीको आत्मबल वृद्धि गर्न हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीका लागि मापदण्ड अनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवासुविधामा उचित ध्यान पुर्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
मन्त्री श्रेष्ठले विपद प्रतिकार्य, राहत तथा उद्धारमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउँदै विपद उद्दार केन्द्रहरूको विस्तार, विपद् उद्धार सामग्रीको नियमित उपलब्धता र विपद् व्यवस्थापनमा संलग्न सशस्त्र प्रहरीको क्षमता विकासका लागि कार्ययोजना बनाई उचित स्रोतसाधनको प्रबन्धसहित ठोस कार्य गर्नका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताएका छन् ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपालसँग सम्बन्धित कानूनी विषयहरू (ऐन, नियमावली, कार्यविधि, मापदण्ड) लाई बदलिदो परिवेशमा समसामयिक परिमार्जन, पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री श्रेष्ठले संगठनलाई नेपाल सरकारले तोकेको जिम्मेवारी अनुरूपको कार्य प्रभावकारी ढंगले सम्पादन गर्नका लागि मौजुदा दरबन्दी संरचनाको पुनर्संरचना गर्ने गरी संगठन तथा व्यवस्थापन गर्ने कार्यलाई अगाडि बढाउन गृहमन्त्रालयको आवश्यक पहलकदमीमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरीले न्यून सेवा सुविधा र अपर्याप्त स्रोत साधनका बाबजुद कतिपय ठाउँमा भाडाको घर, अस्थाई संरचनामा बसेर, कतिपय ठाउँमा जीर्ण अवस्थाका आवास तथा भवनहरूबाट नागरिकलाई सेवा र सीमाको सुरक्षा गरिरहेको अवस्था विद्यमान रहेको हुँदा यस्ता समस्याहरू समाधान गरी भौतिक पूर्वाधार निर्माण र संगठनको क्षमता बढाउने विषयमा गृहमन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने उनको भनाइ छ ।















प्रतिक्रिया