
काठमाडौं, १९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि भइरहेको चौतर्फी आक्रमण र घेराबन्दी राष्ट्रमाथिकै प्रहार भएको बताएका छन् ।
आज आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले अहिले राष्ट्रिय राजनीतिमा एमाले र एमाले नेतृत्वका विरुद्ध भइरहेको आक्रमण र घेराबन्दीको उद्देश्य एमालेका साथै देशलाई समेत कमजोर बनाउने प्रपञ्च भएको बताएका हुन् ।
नेपाललाई असफल बनाउने उद्देश्यअनुसार नै एमालेमाथि चौतर्फी प्रहार भइरहेको उनको भनाइ छ । एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सकेमात्रै मुलुकको रक्षा र नेपालीको सम्मृद्धिको सपना पूरा हुने उनले बताएका छन् ।
‘अहिले हाम्रो पार्टी र पार्टीको नेतृत्वविरुद्ध राष्ट्रिय राजनीतिमा जस्तो किसिमको घेरा बन्दी र आक्रमण भइहरेको छ यसको उद्देश्य के हो ? के यो नेकपा एमालेलाई मात्रै कमजोर बनाउने उद्देश्य हो ? होइन यो यथार्थतामा भन्ने हो भने नेपाल राष्ट्रलाई कमजोर बनाउने उद्देश्यका साथ नेकपा एमालेमाथि प्रहार भइरहेको छ,’ महासचिव पोखरेलले भने, ‘नेपालको एउटा देशभक्त शक्तिमाथिको प्रहार राष्ट्रमाथिको प्रहार हो भन्ने कुरालाई हामीले बुझ्नु र आत्मसाथ गर्नुपर्छ ।’
त्यस्तै उनले विपक्षी गठबन्धनले राष्ट्रको अर्थतन्त्र ध्वस्त बनाएको पनि बताएका छन् ।
आदिवासी जनजाति समुदायमा पहिचानको प्रश्न प्रमुख ठान्ने तर विशेषता भाषा संस्कृति तथा उत्पादनको प्रकृतिलाई बेवास्ता प्रवृत्ति रहेको बताए । उनले नेपालको विविधतालाई ख्याल गर्दै समुदायको हितमा लाग्न सबैलाई आग्रह गरे ।















प्रतिक्रिया