
काठमाडौं, १५ चैत । ‘छोरा मान्छे रुनु हुन्न । रोए दुनियाँले देख्दा लाज हुन्छ ।’ लहान नगरपालिका–७, सिरहाका श्याम विश्वकर्मा सानोमा रुँदा उनलाई आमाले यसैगरी सम्झाउँथिन् । आमाको त्यही भनाइले श्याम जब्बर मनका बनेका थिए पनि । तर उनी मंगलबार काठमाडौंको सडकमा पटक–पटक भक्कानिए । धर्धरी रोए । जोसँग कुरा गर्न खोज्दा पनि उनको आँसु रोकिएन । बानेश्वरको सडकमा नागरिककर्मीसँग भेट हुँदा उनका आँखा रसाइरहेका थिए । हामीले पीडा सुन्ने प्रयास गर्दा बोली नफुट्दै उनी भक्कानिए । त्यसपछि आफ्नो दुःखद वृतान्तको बेलिविस्तार लगाए उनले । श्याम र उनका दाजु हीरालाल विश्वकर्मा गरगहना बनाउने गर्थे । हीरालालले व्यवसाय गर्न २०७१ सालमा लहानकै सुदखोर साहु रामबाबु महतोसँग पाँच लाख रूपैयाँ ऋण लिएका रहेछन् । जसका लागि लहान बजारमै रहेको १० धुर जमिन र त्यसमा बनेको घर दृष्टिबन्धक गरिएको रहेछ ।
२०७४ सालमा हीरालालका दुवै मिर्गौला फेल भएपछि उपचार गराउन उनै साहु महतोसँग आफूले थप १० लाख रूपैयाँ लिएको श्याम बताउँछन् । तर उपचार सम्भव नभएकाले २०७६ सालमा हीरालालको मृत्यु भयो । ‘त्यही ऋण हो । त्यो ऋणले दाइ पनि बाँच्नुभएन । २०७६ मा बित्नुभयो,’ श्यामले भने, ‘त्यसपछि ऋण चुक्ता गर्न मैले आफैं पटक–पटक गरी २६ लाख रूपैयाँ बुझाइसकें । अझै ५७ लाख रूपैयाँ बाँकी छ भनेर साहुले घर नै खाली गर्न लगाए ।’
साहुले २०७६ सालमा ऋण ५७ लाख रूपैयाँ पुगेको भनेर हिसाबकिताब देखाएको उनी बताउँछन् । ‘हिसाबकिताब माग्दा साहुले कागजात दिएनन् । पछि दाजुले नै घरजग्गा राजीनामा गर्दिएको भन्दै मानसिक तनाव दिएर घर खाली गर्न लगाए । २ वर्षदेखि भाडाको कोठामा बसिरहेका छौं,’ श्यामले भने ।
सुनचाँदीका कारिगर रहेका श्यामलाई कोभिड–१९ महामारीभन्दा अगाडि घरव्यवहारमा खासै समस्या थिएन । उनले त्यही सिपले सुदखोरलाई २६ लाख रूपैयाँसम्म तिर्न भ्याए । त्यसयता भने उनी परिवारका लागि कठिन दिन सुरु भएको बताउँछन् । उनी भन्छन्, ‘दाइका तीन छोरी, भाउजू, म, पत्नी र दुई छोरा छौं । खानलाउनै समस्या भएको छ । सन्तानलाई पढाउन त के लालन–पालन नै गर्न नसक्ने भएँ ।’ यही चिन्ताले पत्नी प्यारालाइसिसमा गएको बताउँदै उनले भने, ‘सुदखोरले घर खोस्यो, व्यापार खोस्यो, पत्नी बिरामी भइन्, छोराछोरीको भविष्य पनि खोसियो। जवान पुरुष भएर म केही गर्न नसक्ने भएँ। यस्तै यस्तै सोचेर आँसु नै रोकिँदैन,’ भक्कानिँदै उनले भने ।
केही बेरपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पुग्दा पनि उनले धर्धरी रोएर दुःख पोखे । श्याम यता काठमाडौंका सडकमा आँसु बगाइरहँदा सिरहा जिल्ला अदालतमा उनीविरुद्ध सुदखोर महतोले हालेको मुद्दाको बुधबार पेसी छ । ‘अब म यहाँ छु । भोलि अदालतमा पेसी छ । मेरैविरुद्ध फैसला होला,’ उनले भने ।
नयाँ बानेश्वरमा धर्ना बसेका बेला श्यामकै छेउमा बसेर सिरहा गोलबजार नगरपालिका–१२ का सूर्यनारायण मुखिया पनि आँसु चुहाइरहेका थिए । उनी सुदखोरबाट मात्रै होइन, राज्यबाटै प्रताडित भएको बताउँछन् । मुखियाका साहु रामसेवक यादव हुन् । रामसेवक पूर्वमन्त्री राजकिशोर यादवका ससुरा रहेको मुखिया बताउँछन् ।
रामसेवकसँग उनले पटक–पटक गरी ३० लाख रूपैयाँ ऋण लिएको बताउँछन् । मुखियासँग भएको कागजमा उनले २०७० सालमा पहिलोपटक डेढ लाख ऋण लिएका छन् । ‘घर बनाउन, बिरामी हुँदा उपचार गर्न र दुई छोरालाई विदेश पठाउन त्यो रकम लिएको हुँ,’ मुखियाले भने, ‘तीन बिघा पुख्र्यौली जमिन थियो । त्यो बेचेर अहिलेसम्म डेढ करोड रूपैयाँ दिइसकें । बजारमा रहेको सात कट्ठा ११ धुर जग्गा पनि राजीनामा गरिदिएको छु ।’
त्यति दिँदा पनि सबै सम्पत्ति हडपेर अहिले सडकमा पु¥याएको मुखिया बताउँछन् । ‘बजारमा घडेरी थिए । पुरै तीन बिघा जमिन, घर केही पनि बाँकी नराखेर साहुले हडपेको अवस्था छ । भाडाको कोठामा बसिरहेको छु । सागसब्जी बेचेर परिवार पाल्छु,’ उनले भने ।
आफ्नो कुरा सुन्ने कोही पनि नरहेको मुखियाको दुःखेसो छ । ‘साहुले हिसाब किताब नै दिन्नन् । खाली सबै हडपेर राखेको छ। मसँग सबै लिखित छ । तर मसँग भएको लिखत कोही हेर्दैनन् । कोही साथमा लागे उसको हातमा २० हजार रूपैयाँ दिएर आफ्नो पक्षमा बोल्न लगाउँछ,’ आँसु झार्दै उनले भने, ‘साहुले मेरो घरमा एसपी बस्छ भन्छन् । वास्तवमै बस्छन् पनि । मन्त्री मेरै कुरा सुन्छन्, तेरो को सुन्छ भनेर उल्टै साहुले धमास दिन्छन् । मेरो कुरा न सिडिओ सुन्छन्, न पुलिस । कहाँ जानु ?’
चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका ७२ जना पीडितले अहिले राजधानीको सडकमा आँसु चुहाइरहेका छन् । आइतबार चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा बास बसेका उनीहरू सोमबार साँझ काठमाडौंको खुलामञ्च आएका थिए । त्यहीँ शिविर राखेर आन्दोलन गर्ने उनीहरूको तयारी थियो । काठमाडौं महानगरपालिकाले खुला मञ्चमा प्रवेश दिएन । महानगरले शान्तिवाटिकामा बस्न गरेको आग्रह उनीहरूले अस्वीकार गरे । त्यसपछि रातभरि खुला आकाशमुनि रात बिताए उनीहरूले ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न भन्दै मंगलबार बिहान उनीहरू बालुवाटार पुगे । प्रधानमन्त्री दाहालले भेट्न अस्वीकार गर्दा उनीहरू केहीबेर त्यहीं धर्ना बसे । प्रधानमन्त्रीनिवास अगाडि पीडित धर्नामा बस्दा गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम अधिकारीलगायतको टोली पुगेको थियो । उक्त टोलीले मन्त्रालयले हालसम्म गरेका कामको विवरण पीडितसमक्ष राख्दै वर्तमान कानुनले मात्र सबै समस्या समाधान नहुने बताएको थियो ।
‘असोज १ गते पाँचबुँदे सम्झौता भएको छ। सम्झौता अनुसार हामीले अहिलेसम्म गरेका प्रयास उनीहरूलाई जानकारी गरायौं । उनीहरूसँगको कुराकानीमा केही जिल्लाका प्रजिअको सक्रियता कम छ भन्ने गुनासो रहेको छ,’ सहसचिव शर्माले भने, ‘अहिले केही कुराका लागि कानुन बनाउनुपर्ने देखियो । वर्तमान कानुनले यो समस्या समाधान हुँदैन ।’
त्यसपछि बालुवाटारबाट फर्किएका उनीहरू माइतीघर मण्डलमा धर्ना बसे । त्यहाँबाट संघीय संसद् भवन जान बानेश्वरतर्फ लागेका उनीहरूले प्रहरी अवरोधपछि सडकमै धर्ना दिए, जहाँ पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता र नागरिक समाजका अगुवा ऐक्यबद्धता जनाउन पुगेका थिए ।
सोही क्रममा पूर्वप्रधानमन्त्री खनालले सरकारलाई उच्चस्तरीय आयोग बनाएर समस्या समाधान गर्न सुझाव दिए । ‘किसान–मजदुरजस्ता आमजनता यसरी प्रताडित भएर घरबारविहीन हुँदा राज्य चुप लागेर बस्न हुँदैन,’ उनले भने, ‘उच्चस्तरीय आयोग गठन गरेर त्यसमार्फत यो समस्या समाधान गर्न म माग गर्छु । सत्ता गठबन्धनबीचमा पनि छलफल गर्छु ।’ सरकारले यो समस्या समाधान नगरे आफैं सडकमा आएर आन्दोलनको नेतृत्व गर्ने आश्वासन उनले पीडितलाई दिए । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया