३१ आश्विन २०८३, शनिबार

नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।

भुटानका लागि खेलको २० औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गरेका थिए । खेलको ९० औँ मिनेटमा नेपालका दीपकराजसिंह ठकुरीले एक गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेले बराबरीमा सकिएसँगै नेपाल प्रतियोगितामा चार अंक सहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ ।

अब उपाधिका लागि १७ चैतमा नेपाल र लाओस भिड्ने छन् । फिफा विन्डो अन्तर्गत सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोली नेपाल र लाओस उपाधिका लागि भिड्ने भएका हुन् ।

आज नेपाल र भुटनाबीचको खेल बराबरीमा सकिएसँगै प्रतियोगितामा तीन अंकसहित दोस्रो स्थानमा रहेको लाओसले फाइनलमा स्थान बनाएको हो । दुई खेल खेल्दै एक अंक बनाएको भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ हजार डलर प्राप्त गर्ने छन् ।