– भीष्मराज ओझा
काठमाडौँ, ८ जेठ । विनाशकारी भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको सामना गर्नाका साथै संविधान निर्माणका लागि पनि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा प्रमुख दलबीच बहस सुरु भएको छ ।
राष्ट्रिय सङ्कटको अहिलेको अवस्थामा विपत्तिको सामना गर्न राष्ट्रिय सहमतिको सरकारको आवश्यकता आँैल्याउँदै प्रमुख दलका नेताहरुले हाल सत्ता बाहिर रहेका दललाई पनि समावेश गरेर अघि बढ्नुपर्ने बताएपछि दलबीच यसबारे छलफल सुरु भएको हो । विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्वास र पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको विशेष सङ्कल्पको प्रस्तावमाथि छलफलका क्रममा प्रमुख दलका नेताले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याएका थिए ।
वर्तमान सरकारको प्रमुख नेतृत्वकर्ता दल नेपाली काँग्रेस पदाधिकारी बैठकले सत्ता बाहिरका अन्य राजनीतिक दललाई सभापति कोइराला नेतृत्वको सरकारमा सामेल गराएर राष्ट्रिय स्वरुप दिनुपर्नेमा जोड दिएको छ । काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडू हालको विपत्तिको सामना गर्नका साथै संविधानका विवादित विषयमा सहमति गर्न पनि सबै राजनीतिक दल सम्मिलित राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुहुन्छ ।
प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित क्षेत्रमा पुनर्वास र पुनःनिर्माणको कार्यसँगै संविधान निर्माणलाई पनि यथाशीघ्र टुङ्गोमा पु¥याउन राष्ट्रिय सहमतिको सरकार आवश्यकता पर्छ भन्दै सबै दललाई सरकारमा सहभागिताका लागि आह्वान गर्नुभएको छ ।
यसअघि प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालासँग राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले समेत छुट्टाछुट्टै रुपमा छलफल गरिसक्नुभएको छ ।
वर्तमान सरकारको प्रमुख घटक दल एमालेमा वर्तमान प्रधानमन्त्री सुशील कोइराला नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउने या आफ्नो नेतृत्वमा बनाउने भन्नेबारेमा बहस जारी छ । एमालेका सचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराई विपत्तिको सामना गर्न र संविधानका विवादित विषयमा सहमति जुटाउन पनि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता आँैल्याउनुहुन्छ ।
सचिव भट्टराईका अनुसार राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेतृत्वभन्दा पनि नीतिमा सहमति हुनु महत्वपूर्ण छ । उहाँ भन्नुहुन्छ, “भूकम्पले निम्त्याएको विपत्तिको सामना गर्न, संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन र तत्काल स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने विषयमा सहमति गर्न राष्ट्रिय सहमतिको सरकारको खाँचो परेको हो ।”
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल भूकम्पबाट सिर्जित विपत्तिको शोकलाई शक्तिमा बदल्न सबै दल एक ठाउँमा उभिएर सामना गर्नुपर्ने धारणा राख्नुहुन्छ । अझ एमाओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले त नयाँ युवा पुस्ताको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने धारणा राख्नुभएको छ ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले हालको राष्ट्रिय विपत्तिको सामना गर्न तथा सबैलाई एकताबद्ध गर्न सक्ने सक्षम नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने बताउनुहुन्छ । कसैलाई प्रधानमन्त्री बनाउन र मन्त्री पद खान आफ्नो पार्टी सरकारमा नजाने बताउँदै प्रवक्ता शर्माले भन्नुभयो, “यो वा त्यो नेतृत्वभन्दा पनि विपत्तिको सामना गर्न र विवादित विषयमा सहमति गरी संविधान जारी गर्न क्षमता राख्ने नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ ।”
वर्तमान काँग्रेस नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माले) सहभागी छन् भने एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत मधेसकेन्द्रित दल प्रतिपक्षमा छन् । रासस













प्रतिक्रिया