१ कार्तिक २०८३, आइतबार

चलचित्र नृत्य संघले बढायो नृत्य कलाकारको पारिश्रमिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाल चलचित्र नृत्य संघले चलचित्र, गीत सङ्गीतको भिडियोमा नृत्य गर्ने कलाकारले आगामी वैशाख १ गतेदेखि पाउने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा बसेको बैठकले चलचित्रमा गीत छायाङ्कनमा एक दिनको तीन हजार, दुई दिनको पाँच हजार र तीन दिनको छ हजार पारिश्रमिक निर्धारण गरेको हो । यद्यपि विदेशी चलचित्रको हकमा दैनिक तीन हजार पारिश्रमिक तय गरिएको छ ।

म्युजिक भिडियोमा दैनिक दुई हजार पारिश्रमिक तय गरिएको छ । संघका महासचिव दीपेन्द्र तिमल्सेनाले नृत्य कलाकारले पाइरहेको पारिश्रमिक न्यून रहेकाले बढाउने निर्णय गरेको जानकारी दिए ।

‘अहिले एक हजारदेखि एक हजार पाँच सयसम्म पारिश्रमिक लिएर काम गर्न बाध्य छन् । निर्धारण गरिएको पारिश्रमिकले चलचित्र र म्युजिक भिडियोमा समानता ल्याएको छ ।’, महासचिव तिमल्सेनाले भने, ‘निर्धारण गरिएको पारिश्रमिकको विषयमा सम्बन्धित संघसंस्थासँग छलफल गरिरहेका छौँ ।’

दैनिक ज्यालामा काम गरिरहेकाले बजारको मूल्यअनुसार पारिश्रमिकमा वृद्धि गरे पनि चलचित्र निर्माणको लागत बढिरहेको नेपाल चलचित्र निर्माता संघको अध्यक्ष नवल खड्काले बताए ।

‘अस्वाभाविक रूपमा बढिरहेको पारिश्रमिकले निर्मातालाई समस्या पारिरहेको छ । बजारअनुसार कलाकार, प्राविधिक र निर्देशकले पारिश्रमिक लिए मात्र निर्माताले चलचित्र निर्माणलाई निरन्तरता दिनसक्छ’, अध्यक्ष खड्काले भने, ‘बढाउनुपर्नेको पारिश्रमिक बढाउन हामीलाई कुनै आपत्ति छैन ।’ उनले निर्देशक र कलाकारको पारिश्रमिक अस्वाभाविक रूपमा बढेको बताउँदै यसबारे कार्यसमितिको बैठक बसेर नै एउटा निर्णय लिने जानकारी दिए ।