१ कार्तिक २०८३, आइतबार

कलाकार संघको अध्यक्षमा निरौला विजयी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।

शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । संघ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन् ।

‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व संघप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महशुस गर्ने गरी काम गर्नेछु’, नवनिर्वाचित अध्यक्ष निरौलाले भने, ‘मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।’

उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भएका छन् ।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् ।

सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भएका छन् । अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ (दुई सय ८७), उद्धवप्रसाद भट्टराई (दुई सय ११), पवन केसी (दुई सय दुई), नम्रता खरेल (एक सय ८७), पुकार भट्टराई (एक सय ८२), खुश्बु खड्का (एक सय ७७), सरिता राधोपाध्याय (एक सय ४६), रोशन श्रेष्ठ (एक सय ३५) र समीर लामा (एक सय ३३) मत प्राप्त गरेर विजयी भएका छन् । झन्डै सात सय सदस्य रहेको संघको निर्वाचनमा चार सय ६८ मतमात्र खसेको थियो ।