२९ आश्विन २०८३, बिहिबार

सिरियाली ऐतिहासिक सहर आइएसको कब्जामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

isis-ladaku

दमासकस, ७ जेठ । सिरियाको एक ऐतिहासिक सहर पालमिरा इस्लामिक स्टेट नामको आतङ्ककारी समूहले कब्जामा लिएको समाचार छ ।

प्राप्त पछिल्लो समाचारअनुसार सो सहरलाई कब्जामा लिन उनीहरुले निकै लामो समयदेखि प्रयास जारी राखेका थिए । उनीहरुले सो सहरको अधिकांश भूभाग कब्जामा लिएको प्रचार हिजो नै गरेका थिए ।

सो सहर पुरातात्विक महत्वको सहर हो र यसलाई बचाइराख्न सिरियाली सरकारले पनि निकै नै प्रयास गरेको थियो । सिरियाली गृहमन्त्रीले उक्त नगरको ऐतिहासिकताका कारण पनि त्यसलाई जिहादीहरुको कब्जामा पर्न नदिन सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभएको थियो ।
उक्त सहर पुरातात्विक महत्वको र विश्व सम्पदा सूचीमा रहेको सहर भएकाले यसलाई आतङ्ककारीले कब्जा गर्ने कामबाट बचाउन निकै नै प्रयास गरिएको उहाँको भनाइ थियो ।

तर बिहीबार आइएसले उक्त सहरको आधाभन्दा बढी भूभाग नियन्त्रणमा लिइसकेको बताइएको छ । सिरियामा मानवअधिकारको अवस्थाका बारेमा काम गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले सो जानकारी दिएको छ ।

इराकको रमादी सहर कब्जामा लिएपछि यसलाई पनि आतङ्ककारीहरुले कब्जामा लिने रणनीति अपनाएका थिए । तर पनि हालैमात्र रमादीको नियन्त्रण गुमेपछि यसलाई आइएसले आफ्नो ठूलो सफलताका रुपमा लिएको पाइएको समाचारमा जनाइएको छ ।

उक्त अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमाने एएफपी समाचार समितिलाई दिएको जानकारीअनुसार सो सहरको अधिकांश भाग आइएसले कब्जामा लिएका छन् ।

उहाँले आइएसले उक्त सहरका अधिकांश पुरातात्विक महत्वका वस्तुहरुलाई कब्जामा लिइरहेको आफूले जानकारी पाएको पनि बताउनुभयो ।

उक्त नगर सिरियाको महत्वपूर्ण र रणनीतिक हिसाबले बढी महत्वको नगर होम्स तथा इराकको सीमा क्षेत्रमा समेत प्रवेश गर्नका लागि महत्वपूर्ण रहेको समाचारमा जनाइएको छ ।

पूर्वी इराकका लागि बढी रणनीतिक महत्वको मानिने सो सहरमा आइएसको प्रवेश नहोस् भनेर निकै प्रयास गरेको बताइन्छ । त्यसैले आइएसका लडाकूहरुले यस नगरमा नै आफूहरुले ठूलो युद्ध जितेको जस्तोगरी प्रचार गरिरहेका छन् ।

सो संस्थाले उक्त नगरबाट सिरियाली सैनिक पछि हटिसेकेको जनाएको छ । उक्त नगरमा रहेको सिरियाको सरकारी सैनिक आफ्नो ड्युटीबाट पछि हटिसकेको छ र उक्त नगरमा रहेको एक सानो विमानस्थल पनि उनीहरुले नै कब्जामा लिएका छन् ।

त्यहाँ रहेको सैनिक संरचना तथा सैनिक हेलिप्याड पनि जिहादीहरुको कब्जामा नै पुगिसकेको अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी