
काठमाडौं, २८ फागुन । माओवादी धारकाले नेताहरुले आज आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
२०७६ को माघीमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएका आफन्तले सर्वोच्च अदालतमा रिट दर्ता गराएसँगै माओवादी धारका नेताहरुले आज संयुक्त पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमा प्रचण्डसहित माओवादी धारका शीर्ष नेताहरू सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओली सहभागी हुने बताइएको छ ।
यसैगरी, माओवादी धारका नेताहरुले फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । २६ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको संयुक्त बैठकले संयुक्त पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
प्रचण्डले बोलेको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसँगै माओवादी धारका नेताहरु २ पटक संयुक्त बैठक बसिसकेको छ । प्रचण्डलेसहित माओवादी धारका नेताहरुले शान्ति प्रकियाको बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग समेत गरिसकेका छन् ।
प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् ।
प्रचण्डविरुद्धको मुद्दामा निवेदकको माग बमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ ।












प्रतिक्रिया