धादिङ । वैशाख १२ गतेको महाभूकम्प र त्यसयताका पराकम्पनले मुख्य प्रभावित धादिङमा घर सम्पत्ति क्षतिको विवरण स्थलगतरुपमा संकलन भैरहेको छ ।
प्राविधिकसहितको टोली प्रत्येक गाविसका सबै घरधुरीमा पुग्ने क्रम जारी छ ।
स्थलगत निरीक्षणका क्रममा जनगणना ०६८ भन्दा धेरै घरधुरी संख्या बढेको निरीक्षणमा खटिएका सरकारी कर्मचारीले बताएका छन् ।
धादिङमा जनगणना ०६८ अनुसार ७३ हजार ८ सय ४२ घरधुरी थिए ।
जसमध्ये ४३ हजार ७ सय ४१ घरधुरी पूर्णरुपमा क्षति भएको र १८ हजार ७ सय २० मा आंशिक क्षति भएको प्रारम्भिक तथ्यांक आएको नागरिक दैनिकले छापेको छ ।
स्थलगत निरीक्षण र राहत वितरणको क्रममा संकलन भएको तथ्यांकमा भने २० प्रतिशतसम्म बढेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाको क्षतिको पछिल्लो अवस्था र उद्धार तथा राहत वितरण सम्वन्धमा प्रकाशित विज्ञप्तिमा ग्रामीण तहका लगभग सबै धरधुरीमामा नराम्रो असर गरेको उल्लेख छ ।
जनगणनापछि सबै गाविसमा २० प्रतिशतसम्म घरधुरी बढेकाले पनि क्षति पनि सोही अनुपातमा बढ्ने बताइएको छ ।
यसरी घरधुरी ह्वात्तै बढ्नु अस्वाभाविक भएको थाक्रे गाविसका प्राविधिक सहायक उत्तम अधिकारी बताउँछन् ।
यसरी घरधुरी बढ्नुमा राहत र क्षतिपूर्ति भएको कर्मचारीको बुझाइ छ । विवाहसमेत नभएका छोरा, गाउँ र बजारमा भएका घर, एउटै छानोभित्र छुट्टीएर बसेका बेग्लाबेग्लै परिवारले राहतको आशमा भिन्दाभिन्दै देखाएका कारण एकाएक घरसंख्या बढेको अधिकारीहरु बताउँछन् ।















प्रतिक्रिया