काठमाडौँ, ६ जेठ । भूकम्प क्षतिको व्यवस्थापन तथा पुनः निर्माणका लागि गणतन्त्र कोरियाले रु एक अर्ब अनुदान प्रदान गर्ने भएको छ ।
भूकम्पपछिको नेपालको पुनः निर्माण, पुनः स्थापना, संरचना निर्माण क्षमता विस्तारका लागि अतिरिक्त सहायतास्वरुप उक्त रकम उपलव्ध गराउने निर्णय कोरियाली परराष्ट्र गरेको यहाँस्थित कोरियाली राजदूतावासले आज जनाएको छ ।
नेपालका प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने क्रममा सार्वजनिक संस्थालगायत अन्य भौतिक पूर्वाधारको पुनः निर्माण यथाशीघ्र गर्नुपर्ने विषयलाई गम्भीररुपमा उठाउनु भएकोले त्यसलाई दृष्टिगत गरी कोरिया सरकारले नेपाललाई तत्काल उक्त रकम प्रदान गर्ने निर्णय गरेको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
“नेपाल सरकारले सहयोगका लागि प्राथमिकता निर्धारण गरेका क्षेत्रमा पुनः स्थापना तथा संरचना निर्माणको क्षेत्रलाई उच्च महत्व दिएर सहयोग गर्ने, तत्कालीन तथा दीर्घकालिन सहयोग आवश्यकताको मागका आधारमा उपयुक्त क्षेत्र पहिचान गरी किस्तामा रकम उपब्ध गराइने छ, ” विज्ञप्तिमा भनिएको छ ।
बिग्रेभत्केका संरचना तथा भग्नावशेष हटाउने ठूला औजार उपलव्ध गराउने तथा भूकम्पपीडितका लागि आवश्यक स्वास्थ्य सेवा तत्काल सञ्चालनलाई कोरियाले प्राथमिकता दिएको छ
कोरियाले सन् २०१०मा औपचारिक विकास सहायता उपलव्ध गराउने महत्वपूर्ण देशको सूचीमा नेपाललाई समावेश गरेपछि वार्षिक २०अर्ब वन बराबरको अनुदान सहायता उपलव्ध गराउँदै आएको छ ।
¬ सन् २०१५मा कोरियाली सहयोग नियोग (कोईका)ले नेपालमा विकास–निर्माणका विविध कार्यक्रम कार्यान्वयन गर्न रु एक करोड ३० लाख अमेरिकी डलर प्रदान गरेको छ ।
कोरियाले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, राष्ट्रसङ्घीय बालकोष, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनसँग मिलेर पुनः निर्माणका कार्यक्रम सञ्चालनको तयारी भइरहेको जनाएको छ ।
नेपालको वृहत्तर पुनः निर्माणका निम्ति कोरियाली प्राथमिकता दिने र भविष्यमा पनि थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । रासस
















प्रतिक्रिया