१ कार्तिक २०८३, शनिबार

यी हुन् कांग्रेस कार्यसम्पादन समिति बैठकका निर्णयहरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको छ ।

पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले नेपाली कांग्रेसका तर्फबाट पार्टीका पूर्व कार्यवाहक सभापति एवम् पूर्व सभामुख रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेलगायत पाँच वटा निर्णयहरू गरेको छ ।

बैठकले कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी, प्रतिनिधि सभाका सदस्यद्वय मनोरमा शेरचन र विनाकुमारी थनेतको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

बैठकका निर्णयहरू यस्ता छन्–

१. नेपालको संविधानको धारा ६२ बमोजिम २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पार्टीका पूर्व कार्यवाहक सभापति, पूर्व सभामुख श्री रामचन्द्र पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय यो बैठक गर्दछ ।

२. नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनैतिक दल एवं प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सबै माननीय सदस्यहरुमा हार्दिक अनुरोध गर्दछ ।

३. संवत् २०८० वैशाख १० आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय यो बैठक गर्दछ ।

४. उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।

५. उक्त उप–निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।