
काठमाडौं, १२ फागुन । नेकपा एमालेका पोलिटव्युरो सदस्य ईश्वर बहादुर रिजाल (ईश्वरी)ले नेकपा माओवादी केन्द्र अब कम्युनिष्ट पार्टीका रुपमा नरहेको बताएका छन् ।
कम्युनिष्ट पार्टीको हातमा आएको सरकार र शक्ति पटक–पटक दक्षिणपन्थी कांग्रेसलाई बुझाउन उद्दत बनिरहेको माओवादीलाई कम्युनिष्ट शक्ति भन्न नसकिने बताएका हुन् ।
नेकपा एमालेको पहल र सक्रियतामा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गठबन्धन परिवर्तन गरेको घटनाप्रति टिप्पणी गर्दै पोलिटव्युरो सदस्य रिजालले भने, ‘प्रतिगमन बल्ल सुरू भयो । माओवादीले दुई–दुई पटक कम्युनिष्ट पार्टीको सरकार दक्षिणपन्थी कांग्रेसलाई बुझायो । त्यसै कारण माओवादी अब कम्युनिष्ट शक्ति रहेन ।’
कम्युनिष्टको पोजिसन कांग्रेसलाई बुझाउनु नै प्रतिगमन भएको नेता रिजालको भनाइ छ । ‘२०७८ साल असार २८ गते केपी ओली नेतृत्वको तत्कालनीन सरकार अपदस्त गरेर प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएर देशमा प्रतिगमन सुरू गरेका थिए,’ रिजालले अगाडि भने, ‘त्यसपछि २०७९ साल पुस १० गते एमालेको भरोसामा प्रधानमन्त्री भइसकेपछि त्यो प्रतिगमन ठहराबमा पुगेको थियो । अहिले प्रचण्डले नै कम्युनिष्टको पोजिसन फेरि लगेर दक्षिणपन्थी शक्तिलाई नै बुझाएका छन् ।’
उग्रवामपन्थी माओवादी दक्षिणपन्थीमा परिणत भएको बताउँदै उनले अब चाँडै माओवादी पार्टी विघटन हुने दाबी गरेका छन् । ‘माओवादी अध्यक्ष प्रचण्डलाई अब कम्युनिष्ट मान्न सकिदैन । उहाँले अब चाँडै माओवादी पार्टीलाई विघटन गरी बाबुराम भट्टराईसहितको नयाँ पार्टी बनाउने तयारी गर्नुभएको छ । नयाँ बन्ने त्यो पार्टी कम्युनिष्ट हुने छैन,’ उनले भने ।















प्रतिक्रिया