१ कार्तिक २०८३, शनिबार

प्रचण्डको धोकाको राजनीतिबाट मुलुक गम्भीर अस्थिरतातर्फ धकेलियो : प्रदीप ज्ञवाली

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को धोकापूर्ण राजनीतिबाट मुलुक गम्भीर अस्थिरतातर्फ धकेलिएको बताएका छन् ।

आज बालुवाटारमा आठ दलको बैठकले गरेको निर्णयप्रति टिप्पणी गर्दै ज्ञवालीले देशमा नयाँ अस्थिरता सृजना भएको बताएका हुन् । सात दलीय गठबन्धनमा सबै भन्दा बढी लाभ लिएका प्रचण्डले नै गठबन्धनलाई धोका दिएको उनको भनाइ छ ।

प्रचण्डले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाएपछि देश र संविधानको रक्षाका लागि अब नेकपा एमालेले नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको उपमहासचिव ज्ञवालीले बताएका छन् ।

विभिन्न नेताहरूको भूमिकामाथि विश्वसनीयताको प्रश्न उठिरहेका बेला प्रचण्डसहित अन्य नेताहरूले समेत त्यसको पुष्टि गरेको बताउँदै ज्ञवालीले भने, ‘प्रचण्डको हदैसम्मको अविश्वसनीय कदमहरूले राजनीतिलाई भागबण्डाको माध्यम मात्रै भएको चित्रण गरेको छ । यसले राजनीतिमा जसले जे गरे पनि हुन्छ भन्ने भाष्यलाई बल पुगेको छ । यो देशका लागि शुभ सङ्केत होइन ।’

प्रचण्डको पछिल्लो कदमलाई केही अन्तर्राष्ट्रिय दबाबको रूपमा समेत एमालेले लिएको उनको भनाइ छ ।