– सुधासुमन ढकाल
दाङ, ५ जेठ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लब दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्वालाले भूकम्पले पुर्याएको क्षतिलाई पुनर्निर्माण गर्न राष्ट्रिय सरकार आवश्यक रहेको भन्दै अध्यक्ष ओलीकै नेतृत्वमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सहमतिको सरकारका लागि पहल भईरहेको समेत उहाँले बताउनुभयो । अबको एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर ३ महिना भित्र संविधान जारि गर्ने गरि दलहरु अघि बढ्नुपर्ने उहाँ सुझाव छ ।
अर्थ समितिका सभापति समेत रहेका ज्वालाले भूकम्पबाट घरबार र परिवार गुमाएकाहरुको लागि राज्यले उचित ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो । ‘यो राष्ट्रिय ढुकुटी खोल्ने बेला हो । सबै प्रभावितहरुले सरकार भएको महसुस गर्न पाउनुपर्छ,’ उहाले भन्नुभयो ।
यसैबीच उहाँले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने पालो एमालेकै भएको दाबी गर्दै नेतृत्व गर्ने सवालमा पार्टी भित्र कुनै विवाद नरहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी ओली नै त्यसको पहिलो दावेदार रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो-‘अहिले नेपालीहरु सबै भन्दा बढी पीडामा छन् त्यो पीडा कम गर्न मुलुकमा संविधान आवश्यक छ ।’
राजनीतिक दलहरुबीचको विवादकै कारण संविधान निर्माण कार्य अवरुद्ध हुँदा मुलुकले विभिन्न समस्या झेल्नु परेको भन्दै नेता ज्वालाले नयाँ ढगंबाट राष्ट्र निर्माण गर्न कम्तीमा १० वर्ष राजनीतिक सहमति आवश्यक रहेको दाबी गर्नुभयो ।
सहयोग गर्ने नाममा विदेशीहरु विना सहमति नेपालमा आई शंकास्पथ गतिविधि देखाएको समेत उहाँले आरोप लगाउनुभयो । विदेशी राष्ट्रहरुको सहयोग सह्रानिय भएपनि युद्धको तयारी शैलीमा विदेशीहरु नेपाल भित्रिनु नेपालका लागी दुःखद भएको उहाँको भनाई छ ।
अहिलेको महत्वपुर्ण आवश्यकता अस्थाई वसोवास नै भएको चर्चा गर्दै ज्वालाले राहतको प्रत्याभुति, पुनर्स्थापनालाई ध्यानमा राखेर अघि वढ्नुपर्नेमा जोड दिनुभयो ।













प्रतिक्रिया