२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । बुधबार प्रधानमन्त्री एवं (नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि ओली बालुवाटार पुगेका थिए । दुई शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचन, गृहमन्त्री नियुक्त लगायत विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिको निर्वाचनको मिति फागुन २५ गतेका लागि तोकिएको छ । तर, हालसम्म पनि सत्ता गठबन्धनभित्र राष्ट्रपतिका लागि सहमति जुट्न सकेको छैन ।

हेरौँ बुधबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. प्रचण्ड–ओली भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य, गृहमन्त्रीको नियुक्ति र समसामयिक राजनीतिक विषयहरूमा छलफल छ ।

२. बालेनको पक्षमा आदेश : जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्व काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दायर गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी, तत्काल बालेनले जरिवाना तिर्नु नपर्ने ।

३. दाषीलाई कारबाही गर्नु : गत सोमबार काठमाडौंको गोंगबुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन, घटनालाई आफूले गम्भीर रुपमा लिएको भनाइ ।

४. लुटपाट गर्ने र गाडी जलाउने पक्राउ : गत सोमबार यातायात मजदुरको आन्दोलनकाबेलामा काठमाडौंको ल्होत्से मलमा लुटपाट गर्ने र प्रहरीको गाडी जलाउने गरी नौ जना पक्राउ, अन्यको खोजी भइरहेको प्रहरीको भनाइ ।

५. अब महाअभियोग नयाँ संसदमा ब्युँताउन पाउने : कुनै पनि सांसदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्दा उनलाई निलम्बन गरेको मान्नुपर्ने र आदेश उल्टिए निलम्बन फुकुवा हुने नियमावली मस्यौदा समितिको निर्णय, महाभियोग टुंगो नलागे नयाँ संसदको एक चौथाइ सांसदले ब्युँताउन सक्ने प्रावधान राखियो ।

६. केही गर्नु नपर्ने देखियो : पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानी विवादमा केही गर्नु नपर्ने देखिएको सरकारी वकिलको कार्यालयको निष्कर्ष, प्रहरीले अनुसन्धान गरिरहेको भनाइ ।

७. नेताहरु किन लम्पसार ? : भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएर गरेको भेटघाटमा सांसद चित्रबहादुर केसीले उठाए संसदमा प्रश्न, नेपालका मन्त्री जाँदा भेट्न नमान्ने तर भारतीय कर्मचारी आउँदा नेताहरु लम्पसार पर्ने गरेको टिप्पणी ।

८. विधेयक पेश भयो : कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानद्वारा सम्पत्ति शुद्वीकरण विधेयक संसदमा पेश, सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत ।

९. सकियो अनुसन्धान : नेपाल टी ट्वेन्टी लिगमा भएको स्पट फिक्सिङमा अनुसन्धान सकेर सीआईबीले सरकारी वकिललाई बुझायो रिपोर्ट, १२ जनालाई प्रतिवादी बनाइयो, मुख्य प्रतिवादी सेभेन थ्री स्पोर्टका मालिक जतिन अलुवालिया ।

१०. दिलिपलाई न्याय : २०७६ पुस २५ गते अवैध उत्खनन् रोक्न खोज्दा हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप महतोको हत्या आरोपमा तीनजना दोषी ठहर, जिल्ला अदालतबाट दोषी ठहर हुनेमा विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतो ।

११. आएन रिहा गर्ने आदेश : नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा उच्च अदालत कैलालीले दिएन आदेश, मुद्दाको सुनवाइ हुन बाँकी रहेकाले केही गरिरहनु नपर्ने उल्लेख ।

१२. आयो दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : पोखरामा भएको यति एयरको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, दुर्घटनाको कारण पुर्ण प्रतिवेदनमा मात्रै भन्न सकिने, रनवे १२ बाट अवतरण गर्ने क्रममा दुर्घटना भएकाले सो रनवेको अध्ययन गर्न सरकारलाई सुझाव ।

१३. बस दुर्घटना : जोमसोमबाट पोखरा आउँदै गरेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खस्यो, १७ जना यात्रु घाइते ।

१४. पानी जहाज दुर्घटनामा मृत्यु : लिबियामा पानीजहाज दुर्घटनामा परी कम्तीमा ७३ जना आप्रवासीको मृत्यु, सात जनाको जीवितै उद्दार ।

१५. नामिबियाको निरन्तर हार : काठमाडौंमा जारी विश्वकप लिग–२ अन्तर्गत बुधबारको खेलमा स्कटल्याण्डको जित, नामिबिया १० विकेटले पराजित ।