१ कार्तिक २०८३, शनिबार

एमाले केन्द्रीय लेखा आयोगको पाँचौँ बैठकका निर्णयहरू सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नेकपा एमालेको केन्द्रीय लेखा आयोगको पाँचौँ पूर्ण बैठक लुम्बिनीमा सम्पन्न भएको छ ।

माघ १६ गतेदेखि १८ गतेसम्म बसेको बैठकले गरेका विभिन्न महत्वपूर्ण निर्णयहरू हालै सार्वजनिक गरिएको छ ।

बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालू आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनको लागि प्रशिक्षण पुस्तिका तयार गर्ने, पार्टी कमिटी, जनसंगठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसंगठनको मूल्याङ्कन गर्ने परिपाटी स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण पार्टी कमिटी र जनसंगठनको लेखा परीक्षण/ अनुगमन गर्ने, पार्टी विधान र नियमावलीको व्यवस्था विपरीत आयोगबाट लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टिकरण सोध्ने र यसरी आयोजना हुने अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गर्ने, कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्ने गरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष डा.पुष्प कँडेलको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए । बैठकमा पार्टीका सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल र रूपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीले पार्टी निर्माणमा लेखा व्यवस्थापनको महत्व र आवश्यकता एवम् आर्थिक कारोबारको अवस्थाबारे जानकारीसहितको मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा आयोगका पदाधिकारी तथा सदस्यहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफूहरूले निर्वाह गरेको भूमिकाका बारेमा रिपोर्टिङ गरेका थिए ।

बैठकले गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका आयोगका उपाध्यक्ष विष्णु पन्थी र सदस्यहरू मालती लिम्बु, पदमा जिसी (श्रेष्ठ) र रामेश्वर श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ । त्यस्तै, बैठकमा गत मंसिर १८ गते दिवंगत आयोगका सदस्य खम्ब खत्रीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।