
काठमाडौं, ४ जेठ । नेकपा(एमाले) निकट संगठन युवा संघले एक हप्ता भित्र भूकम्पग्रस्त क्षेत्रमा एक सय घर निर्माण गरिदिने भएको छ । संघले ‘आफ्नो घर आफै बनाऔँ’ अभियान स्वरुप पुनः निर्माण कार्यमा जुट्न लागेको हो ।
संघले इन्जिनियरको डिजाईन अनुसार गोरखा, चितवन धादिङ नुवाकोट, रसुवा, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा घर निर्माण गरिदिने भएको हो । मंगलबार देखिनै उक्त ठाउँहरुमा इन्जिनियर र पार्टीका स्वयंसेबकहरुको टोलि खटिने संघले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
संघले गोरखामा १०, चितवनमा १५, धादिङमा १०, रसुवामा १०, काभ्रेपलाञ्चोकमा १०, सिन्धुपाल्चोकमा १५, दोलखामा १० र रामेछापमा १० वटा घर निर्माण गरिदिने जानकारी दिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेका इन्जिनियर मिनार थापा मगरको डिजाइनमा संघले घरहरु निर्माण गरिदिने भएको हो ।

श्रम बाहेक १५ हजारको लागतमा उक्त घरहरु निर्माण हुने इन्जिनियर थापाले जानकारी दिए । २३ जना इन्जिनियरहरु उक्त क्षेत्रमा खटिने भएका छन् ।
स्थानिय रुपमा उपलब्ध साधन स्रोत र जस्ता, काठ, बाँस, ढुंगा लगायतको सामाग्री प्रयोग गरी घर निर्माण गरिने संघले जनाएको छ । उक्त घर डेढ देखि २ वर्षसम्म टिकाउ हुने जनाईएको छ ।
उक्त अभियानका लागि पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले ५० हजार सहयोग गरेका छन् । कार्यक्रममा बोल्दै पाण्डेले अब नेपालका राजनीतिक दलहरु जुलुस, आन्दोलन गर्न छाडेर पुनःनिर्माणमा लाग्नु पर्ने बताए । उनले भने, ‘आन्दोलन र जुलुसले देश बन्दैन, राजनीतिक दलहरुले जति सकिन्छ त्यति काम गर्नुपर्छ ।’

उक्त नव निर्माण अभियानमा सम्बन्धित जिल्लाका सभाषद्लाई पनि सहभागि गराईने युवा संघका नेत निरज आचार्यले जानकारी दिए । उनले यो पहिलो चरणको कार्यक्रम भएको र यो काम सकेपछि अरु क्षेत्रमा लाग्ने पनि जानकारी दिए । भूकम्पबाट अति पीडित, दलित, चेपाङ लगायत विपन्न परिवारको नाम संकलन गरेर घर निर्माण गरिदिन लगेको समेत उनले जानकारी दिए ।












प्रतिक्रिया