३० आश्विन २०८३, शुक्रबार

भूकम्पपछि तरकारीले बजार पाएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarkariचितवन, ४ जेठ । गत वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्प र पराकम्पनपछि यहाँ उत्पादित तरकारीले बजार पाउन सकेको छैन ।

मुख्य बजार काठमाडौँमा तरकारी नगएपछि यहाँको तरकारीले बजार पाउन नसकेको हो । बिक्री नभएपछि कतिपय किसानले तरकारी जोतिदिएका छन् भने कतिपयले बारीमै बुढिएर जान दिएका छन् । नटिपे अर्काे पटक नफल्ने हुँदा भिन्डीलगायतका तरकारीलाई कामदार लगाएर टिप्नुपरेको कृषकको दुःखेसो छ ।

पश्चिम चितवनको शुक्रनगरमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका गणेश भुसालले तरकारी बारीमै बुढिएर गएको दुःखेसो पोख्नुभयो । बजारमा पठाउँदा नबिकेर कुहिने, नटिपे बोटबाट थप तरकारी नफल्ने हुँदा ठूलो समस्या आएको उहाँको भनाइ छ ।

यो गोलभेँडा, भन्टालगायतका तरकारी फल्ने मौसम हो । यी बोटमा क्रमशः तरकारी टिप्दै जानुपर्ने हुन्छ । तर टिपेको तरकारी बिक्री नहुँदा किसान मर्कामा परेका छन् । भुसालले एक बिगाह क्षेत्रफलमा तनेबोडी, दुई बिगाहको गोलभेँडा, १० कट्ठाको भन्टा, १० कट्ठाकै करेला र चिचिन्डोलगायतका तरकारी बुढिएर गएको छ । वार्षिक रु ७०÷८० लाखको तरकारी बेच्ने भुसाल बारीभरि तरकारी बुढिएर गएपछि चिन्तामा परेको बताउनुहुन्छ ।

यहाँ उत्पादित तरकारीको मुख्य बजार काठमाडौँ हो । झन्डै ४० प्रतिशतको हाराहारीमा तरकारी जाने काठमाडौँसहित गोरखा, लमजुङ, धादिङ, नुवाकोटलगायतका क्षेत्र भूकम्पबाट प्रभावित भएपछि बजार ठप्प भएको हो ।

पूर्वी चितवनको जनजागृति हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष चुडामणि बर्ताैला दुई तीन रुपैयाँ किलोमा पनि तरकारी नबिकेपछि किसान मारमा परेको बताउनुहुन्छ । सो सहकारीका नौ सय जना सेयर सदस्य र केही गैरसेयर सदस्य तरकारीखेतीमा लागेका छन् । दैनिक तीन ट्रक तरकारी बिक्री गर्दै आएको सो सहकारीमा तरकारी नबिकेपछि दैनिक रु पाँच लाखभन्दा बढीको घाटा भएको बर्ताैलाले बताउनुभयो ।

महँगो बीउ, मल, जोताई, मजदुरलगायतमा ठूलो खर्च गरेका किसान तरकारीको अवस्था नाजुक बनेपछि अब तरकारीको नामसम्म लिन नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । भूकम्प जानुअघि प्रतिकिलो रु ४०÷५० सम्ममा बिक्री हुँदै आएको तरकारी बिक्दै नबिक्ने बिके पनि प्रतिकिलो रु चार÷पाँचमा बिक्री गर्नुपरेको किसानको गुनासो छ ।

कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत धनबहादुर थापा हाल उत्पादित तरकारी बिक्री नभएपछि किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताउनुहुन्छ । जिल्लामा छ हजार २५७ हेक्टर क्षेत्रफलमा तरकारीखेती गरिँदै आएको छ । वार्षिक रुपमा ८५ हजार चार सय मेट्रिक टन तरकारी जिल्लामा उत्पादन हुँदै आएको बागवानी विकास अधिकृत थापाले बताउनुभयो । तरकारीमा अग्रणी जिल्लाका रुपमा रहेको चितवनको पश्चिममा गुञ्जानगर, गीतानगर, फूलबारी, पूर्वमा रत्ननगर, भण्डारा, वीरेन्द्रनगर, पिप्ले र पहाडका शक्तिखोर, दारेचोक र काउले तरकारीको पकेट क्षेत्रका रुपमा विकास गरिएका छन् ।

सरकारले तरकारी किसानलाई प्राविधिकसँगै आर्थिक सहयोगसमेत गर्दै आएको थापाले बताउनुभयो । यस वर्षमात्रै युवा लक्षित तरकारीखेती कार्यक्रममा रु ३६ लाख उपलब्ध गराइएको छ भने तरकारी टनेलका लागि रु नौ लाख उपलब्ध गराइएको थापाले बताउनुभयो ।

त्यसका साथै विभिन्न परियोजनामार्फत तरकारीखेती गर्ने किसानलाई सरकारले सहयोग पु¥याउँदै आएको छ । तरकारीलाई व्यावसायिक बनाएर ऋण तिर्दै जीविकोपार्जन गर्दै आएका किसान भने भूकम्पको मारमा परेका छन् । रासस