२९ आश्विन २०८३, बिहिबार

एनआरएनए थाइल्यान्डद्वारा पहिलो चरणमा ४२ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRN Logoकाठमाडौँ । गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डले नेपालका भूकम्पपीडितलाई सहयोगस्वरुप पहिलो चरणमा रु ४२ लाखबराबरको सहयोग पठाएको छ ।

सो सङ्घले थाइल्यान्डमा भूकम्पपीडित राहत सङ्कलन समिति गठन गरी त्यहाँ रहेका नेपाली तथा थाई नागरिकबाट रु ४२ लाखबराबरको सहयोग जुटाएको हो ।

सङ्घका अध्यक्ष खगेन्द्रराज ढकालले दिनुभएको जानकारीअनुसार यसअघि नै गैरआवासीय नेपाली सङ्घले भूकम्पपीडितको सहयोगार्थ अघि सारेको एक हजार घर निर्माण अभियानका लागि सङ्घको भूकम्पपीडित राहत कोषको खातामा रु ३० लाख जम्मा गरिदिएको छ ।

अध्यक्ष ढकालले सो खातामा रु ३० लाख जम्मा गर्नुका साथै नेपालका पीडितका लागि छ टन खाद्यान्नलगायतका राहत सामग्री थाई एयरवेजमार्फत नेपाल पठाएको जानकारी दिनुभयो ।

हप्तादिनअघि नै उक्त रकम जम्मा गरिएको र ती सामग्री नेपालमा पठाइएको हो । दोस्रो चरणका लागि पनि उक्त समितिले राहत सङ्कलन गरिरहेको र छिट्टै नै दोस्रो चरणको राहतबारे जानकारी दिइने अध्यक्ष ढकालले बताउनुभयो । नेपाल पठाइएका ती राहत सामग्रीमा अत्यावश्यक औषधि, त्रिपाल, खाद्यान्न, बच्चाका लागि आवश्यक खानेकुरा, स्लिपिङ ब्यागलगायत रहेको सो सङ्घले जानकारी दिएको छ ।

एनआरएनए थाइल्यान्डका कार्यकारी सदस्य महेन्द्र श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरी राहत सङ्कलनको कामलाई निरन्तरता दिइएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । थाइल्यान्डमा रहेका नेपालीहरुका स्थानीय विभिन्न सङ्घसंस्थाका साथै थाई नागरिकले पनि सो राहत कोषमा रकम तथा विभिन्न राहत सामग्री जम्मा गरिरहेका सो सङ्घले जानकारी दिएको छ ।