
काठमाडौं, १९ माघ । प्रगतिशील नेपाल स्वतन्त्र यातायात मजदुर युनियनले सवारी चालकको चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने सरकारी नीतिको विरोध जनाएको छ ।
आज बिहीबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सरकारी नीतिको विरोध जनाएको हो । उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐन र नियमावली १६४ को उपदफा ४ लाई अक्षरंश कार्यान्वयन, सामान्य कमजोरीमा नै चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने विनियम तत्काल खारेज, हालसम्म ६ महिने निलम्बनमा पारिएका चालकको आश्रित परिवारलाई आवश्यक दैनिक गुजाराको व्यवस्था र रिङरोड वरिपरि यातायात सञ्चालन गर्ने यातायात श्रमिकका लागि शौचालयको व्यवस्थालगायत माग राख्दै पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनमा यातायात क्षेत्रका मजदुरहरु यातायात व्यवस्था कार्यालय र विभागको गलत नीतिको शिकार बनिरहेको बताएका छन् । उनीहरुले दुर्घटना न्यूनीकरणको नाममा झण्झटिलो ट्राफिक नियमावलीको कारण दैनिक रूपमा दशौं हजार यातायात मजदुर कामविहीन हुनुपरेको भन्दै पाँचपटक ट्राफिक नियमावलीअन्तर्गत कार्वाही परेका यातायात क्षेत्रमा समर्पित चालकको चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने सरकारी नीतिको कारण हालसम्म सयौँ चालकहरु बेरोजगार हुनुपरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ अध्यक्ष केदार गिरी, प्रगतिशील नेपाल स्वतन्त्र यातायात मजदुर युनियन अध्यक्ष दुर्गामान बर्देवा र उपाध्यक्ष सुस्मिता लामिछानेको उपस्थिति थियो ।















प्रतिक्रिया