१ कार्तिक २०८३, शनिबार

संसद भवनमा महिला सञ्चारकर्मीलाई पुरुष शौचालयतिर पठाएपछि…

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा समाचार संकलन गर्न पुगेका महिला पत्रकारहरूलाई पुरुषको शौचालयमा पठाइएको छ ।

हिजो बुधबार प्रतिनिधि सभा बैठक बसिरहेका बेला समाचार संकलन गर्न संसद भवन पुगेका महिला पत्रकारहरूलाई त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले पुरुषको शौचालयतिर पठाएका हुन् ।

घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाउँदै महिला पत्रकारहरूमाथि भएको अमानवीय र गैरजिम्मेवारपूर्ण व्यवहारप्रति दु:ख व्यक्त गरेको छ ।

आज बिहीबार महासंघले विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । ‘समाचार संकलनका क्रममा संघीय संसदबाट सञ्चारमाध्यम र सञ्चारकर्मी लक्षित घटना भइरहेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘माघ १८ गते बुधबार समाचार संकलनका लागि संघीय संसद पुगेका सञ्चारकर्मी र सञ्चारमाध्यममाथि त्यहाँ तैनाथ सुरक्षाकर्मीले महिला सञ्चारकर्मीलाई पुरुष शौचालयमा जान भनेर गैरजिम्मेवार व्यवहार देखाएका थिए । यसअघि पनि सचिवालयका सुरक्षाकर्मीबाट समाचार संकलनका क्रममा सञ्चारकर्मीलाई अवरोध खडा गर्ने, अनावश्यक केरकार गर्नेजस्ता गतिविधि भइरहेको थियो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संघीय संसद सचिवालयबाट जारी परिचयपत्र देखाएर सञ्चारकर्ममा खटेका पत्रकारमाथि भैरहेको यस किसिमको हर्कतको संघीय संसदका पदाधिकारी तथा सचिवालय नेतृत्वलाई पटकपटक जानकारी गराउँदा पनि यसप्रति गम्भीर नहुनु अत्यन्त दु:खद् पक्ष र गैरजिम्मेवारपन हो । यस घटनाले प्रेसलाई हेर्ने संघीय संसदको नियतमाथि नै प्रश्न खडा भएको महासंघको ठहर छ ।’

महासंघ संसदीय मूल्यमान्यता र विधिको शासनको उच्चतम अभ्यास हुने जनप्रतिनिधिमूलक संस्थाबाट भैरहेको यस्ता क्रियाकलाप तत्काल रोकी संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको ख्याल गर्न र निर्वाध तथा स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुट्ने वातावरण बनाउन महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छ ।