२९ आश्विन २०८३, बिहिबार

भूकम्प पछिको पर्यटन क्षेत्र: अब कसरी माथि उठ्न सक्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-Thapa-Chandra-Rijal

– सूर्य थापा / चन्द्र रिजाल

लामो समयको द्वन्द्वपछि देश शान्तिप्रक्रियामा प्रवेश गरेलगत्तै नेपालको विकासका आधारहरुमध्ये पर्यटन क्षेत्रले गति लिन थालेको थियो । तर २०७२ बैशाख १२ गतेको महा–भूकम्प र त्यसपछिका कैयौ पराकम्पनहरुले गर्दा यस क्षेत्रले ज्यादै ठूलो क्षति भोग्नुपरेको छ । समग्र पर्यटन क्षेत्रलाई पहिलेकै स्थितिमाा फर्काएर राष्ट्रको तीब्र आर्थिक विकास सुनिश्चित गर्न यतिबेला अविलम्ब निम्न कामहरु गर्नु आवश्यक रहेको ब्यहोरा अनुरोध गर्दछौं:

१)    महाभूकम्पले राजधानी उपत्यकास्थित पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र विश्व सम्पदाहरुमा व्यापक क्षति पु–याएको छ ।  यस स्थितिमा भत्किएका सम्पदाहरुको संरक्षण, सम्बद्र्धन र पुनःनिर्माण गर्न विशेष ध्यानकेन्द्रित गर्नु जरुरी छ । निश्चित छोटो समयावधि तोकीे पुरातात्विक धरोहरहरुका साथै ऐतिहासिक शहरहरु साँखु, बुङमति, कीर्तिपुर, टोखा, खोकना, पनौति र भक्तपुरको पुुनःनिर्माण नेपाल सरकार आफैले योजनाबद्धढंगले गरी पूर्ववत्रुपमा दुरुस्त र अझ मोहक बनाउनुपर्दछ । यस निम्ति १० अर्ब रुपियाँको विशेष सम्पदा सम्बद्र्धन कोष खडा गरी निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायसमेत सबैलाई सहयोगका निम्ति आग्रह गरेर निर्माण कार्य थालिहाल्नुपर्दछ । शीर्ष राजनीतिक नेतृत्वले भत्किएका सम्पदा क्षेत्रहरुको स्थलगत अवलोकन गर्नुपर्दछ ।

२)    भूकम्पबाट पर्यटन क्षेत्रमा भएको क्षतिभन्दा ध्वंसको नकारात्मक प्रचार ज्यादै बढी भएको छ । लाङटाङ र मनास्लुबाहेकका पदयात्रा मार्ग अविलम्ब सुचारु गर्न सकिन्छ । होटल र गेस्टहाउसहरुमा ठमेलस्थित बजेट, नगरकोट, लाङटाङ, हेलम्बु र चरिकोटमा बढी तर अन्यत्र अति सामान्य क्षति भएको छ । जोखिममा नरहेका अनगिन्ती पर्यटकीय सम्पदा तथा गन्तव्य स्थलहरु सुरक्षित छन् । यो सन्देश अन्तराष्ट्रिय बजारमा प्रवाह गर्न विभिन्न कूटनीतिक नियोगहरु, विदेशस्थित अवैतनिक वाणिज्यदुतहरु र एनआरएनलगायत नेपाली समुदायका सम्पूर्ण संयन्त्रहरु तत्काल परिचालन गर्नु आवश्यक छ । नेपालस्थित सम्पूर्ण कुटनीतिक नियोगहरुसँग समन्वय गरी ट्राभल एड्भाइजरीमा नेपाल भ्रमण गर्नु सुरक्षित रहेको यथार्थ सम्प्रेषण गराउन यथाशक्य पहल र अनुरोध गर्नपर्दछ ।

३)     संसारभरि रहेका     नेपालीहरुमार्फत विशेष अभियानका रुपमा नै नेपाल पर्यटकहरुका लागि भ्रमणयोग्य र सुरक्षित छ भन्ने सन्देश  प्रवाह गराउनुपर्दछ । यसको लागि नेपालका मित्रहरु, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको व्यापक प्रयोग र परिचालन गर्नुपर्दछ ।

४)     मित्र राष्ट्रहरु भारत र चीनका पर्यटकहरुलाई बढी आकर्षित गर्न विशेष प्याकेज बनाई ठोस पहलकदमी अघि बढाउनुपर्दछ । अहिलेको अवस्थामा नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई सरकारले छ महिनासम्म निःशुल्क भिसाको घोषणा गर्नसक्दछ र व्यावसायीहरुले आकर्षक सस्तो प्याकेज बनाउनुपर्दछ ।

५)     इलाम, पाथिभरा, बराहक्षेत्र, जनकपुर, पोखरा, अन्नपूर्ण पदमार्ग, साहासिक जल यात्रा, सगरमाथा आरोहण, पशुपतिनाथको तीर्थाटन, सौराहा, लुम्बिनी, स्वर्गद्धारी, मुक्तिनाथ, ठाकुरद्वारा, रारा, खप्तड, रामारोशन र शुक्लाफाँटाआदि गन्तव्यहरुको प्रबद्र्धनमार्फत भूकम्पको नोक्सानलाई क्षतिपूर्ति गर्न सकिन्छ । साथै, उपल्लो मुस्ताङ्ग र उपल्लो डोल्पालगायत पदयात्राका नियन्त्रित क्षेत्रहरुलाई अन्य क्षेत्रहरुसरह सबै पदयात्रीहरुका लागि खुुल्ला गर्ने व्यवस्था मिलाउनुपर्दछ । धार्मिक पर्यटकहरुलाई लोमान्थाङको नाका खुला गरी सहजरुपमा नेपाल एवम् कैलाश–मानसरोवर(तिब्बत)को गन्तव्य विस्तार गर्नुपर्दछ ।

६)     पदयात्रामा जाने विदेशी पर्यटकहरुको अभिलेख अध्यागमन, कर, राष्ट्र बैंक र कम्पनी गरी चार ठाँउमा नै राख्न पुरानो व्यवस्था कायम गर्नुपर्दछ । र, स्याटलाइट अभिलेख प्रणाली अवलम्बन गर्नुपर्दछ ।

७)      पर्यटन व्यवसायीहरुलाई राहत र सुविधा पुग्ने गरी कम्तिमा तीन महिनाको लागि घरभाडामा छुट, राजस्वमा सहुलियत र बैकबाट ऋण लिएका व्यावसायीहरुलाई ब्याजमा सुविधा र किस्तामा सहजीकरणका निम्ति नेपाल राष्ट्र बैकमार्फत नीतिगत घोषणा गरी प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्दछ ।

८)       क्षति पुगेका भौतिक संरचना एवम् होटल र पर्यटन व्यवसायका लागि मर्मतसंभारका सामान र सवारी साधन आयात गर्दा तथा पदयात्रा मार्गमा भएको क्षतिका कारण अब क्याम्पिङ ट्रेकिङ्ग संचालन गर्नुपर्ने हुँदा त्यसनिम्ति आवश्यक सामान आयात गर्नुपर्दा भन्सार छुटको व्यवस्था मिलाउनु पर्दछ । पदयात्रा मार्गहरुको तत्काल स्थलगत सर्वेक्षण गरी आवश्यक पूर्वाधारहरुको निर्माण÷पुनःनिर्माण कार्य अविलम्ब सुरु गर्नुपर्दछ । साथै, निजी क्षेत्रसँगको सहकार्यमा नयाँ पदमार्गको विस्तार तथा स्थगित कतिपय पदयात्रा मार्ग जस्तोकि काठमाडौं मण्डला टे«क्स को पुनःसञ्चालन गर्नुपर्दछ ।

९)     फरक–फरक गाउँहरु र त्यहाँ विद्यमान विविधतापूर्ण संस्कृतिलाई मध्यनजर गरी घरबास (Home Stay)को व्यापक बिस्तार गर्नुपर्दछ । यसो गर्न सहुलियत दरमा ऋण तथा अनुदानको व्यवस्था मिलाउनुपर्दछ ।
१०)   बाह्य पर्यटकहरुको आगमन कम भएको आजको स्थितिमा बजारमा आन्तरिक पर्यटक संख्या बढाएर अघि बढ्नुपर्दछ । त्यसका लागि निजामति, जंगी, वित्तीय, बैकिङ र निजी क्षेत्रलाई अनिवार्यरुपमा निश्चित अवधि घुमफिर बिदाको व्यवस्था लागु गर्न सकिन्छ । आन्तरिक पर्यटनमा खर्च गर्ने व्यवसायीहरुलाई निश्चित रकम तोकी त्यतिहदसम्म आयकरमा छुट दिनुपर्दछ ।

११)    कूल गार्हस्थ उत्पादन(जीडीपी)को करिब तीन प्रतिशत हिस्सा ओगट्ने पर्यटन क्षेत्रका लागि ज्यादै न्यून (१.५ प्रतिशत मात्रै) बजेट बिनियोजन गरेको पाइन्छ । लगानीबेगर धुवाँरहित यस उद्योगबाट प्रतिफलको अपेक्षा गर्न मिल्दैन । तसर्थः यसै आर्थिक बर्षदेखि कूल बजेटको कम्तिमा १० प्रतिशत बजेट यस क्षेत्रका लागि बिनियोजन गरी पूर्वाधार विकासलाई व्यापक र तीब्र पारिनुपर्दछ ।

१२)       दोस्रो अन्तराष्ट्रिय विमानस्थल(निजगढ)को निर्माण कार्यको शीघ्र थालनी एवम् भैरहवा र पोखराका निर्माणाधीन क्षेत्रीय विमानस्थलहरुको काम छिटोभन्दा छिटो पूरा गरेर पर्यटन  उद्योगलाई दीर्घकालीन तथा दिगोरुपमा  विकास गर्ने आधार प्रदान गर्नुपर्दछ । यस निम्ति नेपाल वायु सेवा निगमले जहाज थप गरी तत्काल पर्यटक आगमन संख्या बढाउन तथा निजी क्षेत्रका व्यावसायीमार्पmत आकर्षक सुविधाको प्याकेज  यथाशक्य घोषणा गरेर कम्तिमा छ महिनासम्म नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई थप सुुविधा उपलब्ध गराउनुपर्दछ । यस घडीमा पर्यटन प्रबद्र्धनको नयाँ प्याकेज बनाई नेपाल पर्यटन बोर्डले कार्यान्वयन गर्नुपर्दछ ।

(नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठनले सोमबार राजधानीमा आयोजित अन्तरक्रिया तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा प्रस्तुत आधार–पत्र)