
काठमाडौं, १५ माघ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले प्रेमप्रसाद आचार्यको आत्मदाह र रवि लामिछानेको नागरिकता विवादमा राज्य नै दोषी रहेको टिप्पणी गरेको छ ।
मोर्चाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा सार्वजनिक गर्दै केही दिनअघि संसद् भवनअगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्य र रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको फैसलालाई राज्यको दोष भएको टिप्पणी गरेको हो ।
यस्ता घटना घट्नुमा राज्य प्रमुख दोषी रहेको उल्लेख गर्दै मोर्चाले अहिलेको राज्य व्यवस्था नै परिवर्तनको आवश्यकता औंल्याएको छ । मोर्चाका उपाध्यक्ष यमराज आचार्यले नेपालको संविधानलाई लङ्गडो संविधानको संज्ञा दिए । उनले अहिलेको व्यवस्थाले प्रेमप्रसाद आचार्यलाई आतमदाहको लागि बाध्य बनाएको आरोप लगाए ।
रबि लामिछानेतर्फलक्षित गर्दै उनले भने, ‘आज यो देशमा व्यवस्था परिवर्तन गर्नु पर्ने थियो । केही साथीहरु अवस्था परिवर्तन गर्छु भनेर जानुभयो । यो सम्पूर्ण घटना अवस्थाको कारण भएको होइन व्यवस्थाको कारण भएको हो । यसको मूल कारण २०७२ को लङ्गडो संविधान हो ।’
अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले उद्यमी–व्यवसायीलाई आत्मदाह गर्न बाध्य बनाएको उनको आरोप छ । संसद् भवन अगाडि आत्मदाह गरेका आचार्यलाई शहीद घोषणा गर्न पनि उनले माग गरेका छन् ।
‘प्रेमप्रसाद आचार्य उनले आत्मदाह गरेर मर्नुभयो । उहाँ सहिद हो र म उहाँलाई स्मरण गर्न चाहन्छु । यो व्यवस्थाले उद्यमी/व्यवसायी र युवाहरुलाई आत्महत्या गर्न विवश बनाएको छ,’ उनले भने ।
रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्चबाट भएको फैसलाको प्रसंगमा उनले नेपाली नागरिकले बाध्य भएर अन्य देशको नागरिकता लिने गरेको बताए । अन्य मुलुकको नागरिकता लिन पर्ने बाध्यतालाई ध्यान दिएर दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया