
काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक एवम् निवर्तमान गृहमन्त्री रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् ।
उनले आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुन: प्राप्ति गरेका हुन् ।
उनले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
‘प्रशासनले उहाँको पुरानो नागरिकता कामय गरेको हो, नयाँ जारी गरेको वा प्रतिलिपि जारी गरेको भन्ने होइन,’ प्रजिअ अधिकारीले भने ।
लामिछानेले पुन: प्राप्तिको प्रक्रिया पूरा गरेसँगै काठमाडौं प्रशासनले उनलाई २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नयाँ प्रमाणपत्र प्रदान गरिएको आचार्यले जानकारी दिए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुन: प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।
फैसलासँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।















प्रतिक्रिया