१ कार्तिक २०८३, आइतबार

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली: प्रधानमन्त्री

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमाडमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् ।

२८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आइतबार काठमाडौंको टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, “आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए । नेपालमा बसोबास गर्ने सबै जाति/जातजातिको आ—आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेका र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो”, उनले भने। प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिए । उनले भने, “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो ।”

मानव जातीले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सांस्कृतिक पाटोको बारेमासमेत जानकारी दिए । उनले चन्द्रमाको गतिको आधारमा समय गणना हुन थालेको र सोही पद्दति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछन् भने । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानको) ल्होछार पनि भन्दछन् भन्ने तथ्य स्थापित भएको बताए ।

“ल्होको अर्थ साल, सम्बत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यो परम्परामा विभिन्न बाह्र पशुपक्षीको नामबाट १२ ल्हो को नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ” उनले भने, “बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक–एकवटा ल्हो फेरिन्छ । ल्हो (वर्ष) सँग खाम (पाँच तत्व)हरू— आगो, पानी, माटो, फलाम, काठ,सँग जोडिएका हुन्छन् । यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् ।” तामाङ समुदायले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिनको रुपमासमेत लिइने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “हिजो ताकल्हो (बाघ वर्ष) लाई बिदा गरियो । आइतबारबाट ह्योई (खरायो वर्ष) ल्हो सुरु भयो । यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाईसमेत प्रतिविम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु ।”

नेपालमा मात्र नभएर चीन, मङ्गोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्याण्ड, ताईवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल—चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घ/संस्थालेसमेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् ।

तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमासमेत विशेष महत्व राख्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।