
– नरेश केसी
भैरहवा, जेठ ३ । स्रष्टाहरुले विनाशकारी महाभूकम्पलाई ईतिहासकै कालो दिन भएको हुँदा सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, दोलखा, गोरखा, लम्जुङ लगायत मुलुकको १४ वटा जिल्लामा गएको महाभूकम्पले मुलुकलाई अपुर्णनीय क्षति भएको भन्दै आ आफ्ना रचना मार्फत बैशाख १२ लाई शताब्दीकै कालो दिन भएको बताए । सिद्धार्थ साहित्य परिषद, सिद्धार्थनगर रुपन्देहीको १७४ औं सिद्धार्थ साहित्य संगमका सहभागी स्रष्टा प्राज्ञ बूँद रानाले छन्दमा भूकम्प जादाको दिनलाई यसरी सम्झिए:
नसोचे सम्झेको कहर डर लाग्दो थपीदियो
महाक्रोधी बन्दै मुलुकभर काम्दै दगुरियो
ठूलो घामैं हाल्यो सकल घरबारी थिलोथिलो
बनायो ध्वस्तै पो रत्तिभर नराखिकन जिलो ।

प्राज्ञ रानाले १२ गतेलाई सम्झिएलगत्तै साहित्यकार कविता रिजालले भूकम्पपछिको बेहाललाई शब्दमा यसरी पस्किन् ः
खुला छ आकाश, तलै छ बास । भयो न टुङ्गो ऊ कपास, गास ।। कतैछ चित्कार, विलाप रोदन । दृश्यादीले चित्त भयो नी छेदन ।।
छन्दवादी कवियत्री रिजालको प्रस्तुतिपछि हाईकूकार सोनु गुरुङले पंगु दुर्गम, दुर्बल राजधानी , बैशाख बाह« भन्दै मुलुकको अवस्थितीलाई पस्किन् ।
प्राकृतिक विपत्तिले मुलुक तहसनहस भईरहेकोबेला करिब अढाई घण्टासम्म हलचलनगरी रुपन्देही क्यामपसको हलमा शान्त मुद्रामा साहित्यक संगमममा एक साथ जुटेका स्रष्टाहरुको अध्यक्षता गरिरहेका वरिष्ठ साहित्यकार परिषदका अध्यक्ष विजय सागरले दातृ निकायले प्राकृर्तिक विपत्तिमा परेकालाई दिएको सहयोगमा पनि भएको खिचलो प्रति व्यंग्य गर्दै भने :
अचम्म
इश्र्या, डाह र अह्म्को गौमन
फणा उठाएर खडा भयो
दानमा पनि भागबण्डाको तापले
सगरमाथा लाजले पग्ल्यो ।
अध्यक्ष सागरले जस्तै अर्का कवि उमेशचन्द्र रिजालले भन्दै थिए : मृत्युहरु बाडिएको छैन, घाइतेहरुको चित्कार, रोदनमा हासिंरहेछन्, त्रिपाल र पाल बाड्ने हातहरु । अर्का युवा कवि केशब शर्मा बेलबासेले पनि राहत दिनेहरु तर्फ व्यंग्य गर्दै थिए यसरी : थोत्रा लुगा पठाउँछन् ठुला दाजु राहतमा, निरीहता र लाचारीपनको नांगो नमुना । नेपाली भनी खै के गर्व गर्नु, उपहास भो जिन्दगी ।
हरेक महिनाको पहिलो शनिवार पाका र पुराना पुस्ताको जमघट हुने सिद्धार्थ साहित्य संगमको जेठ महिनाको संगम भूकम्प विशेष जस्तै भएको थियो ।

कार्यक्रममा नवोदीत कवि शसी पन्थिले भूकम्पले वर्गिय खाडल पुरेको तर्फ इंगिंत गर्दै गजल मार्फत आफ्नो प्रस्तुति यसरी पस्किए :
जति थिए खुसी लग्यो भुकम्पले
आस्थाको धरोहर ढाल्यो भुकम्पले
कोही दरबार बस्थे कोही झुपडी
हजारौ समान मन बनायो भूकम्पले
संगममा खरो स्वाभावका कवि रुद्र ज्ञवालीले भूकम्प जाँदाको दिन पशुपक्षिले देखाएको व्यवहारलाई सम्झिदैं भने:
भुक्थे कुक्कुर बस्तुभाउ डरले बां बां कतै गर्दथे ।
त्यागी गुंड कराउदैं वनभरी पंक्षि उडेका थिए ।।
भाडां वर्तन टांडबाट घरका झदैं र फुट्दै थिए ।
सग्ला बोट बुट्यान जे जति थिए ढल्दै र उठ्दै थिए ।।
सोही मेसोमा संगमका प्रमुख अतिथी समते रहेका बरिष्ठ साहित्यकार प्राध्यापक डा कपील लामिछानेले गद्य लयमा भने :
ज्यान गल्यो गल्यो गल्यो
त्यहि बेला भुई चल्यो चल्यो चल्यो
देशको पहिचान ढल्यो
देशको सान ढल्यो
नेपालीको उखान ढल्यो
गाऊखाने कथाको विषय बनेको
नेपालीको संस्कृति बनेको
प्यारो धराहरा ढल्यो ।
कार्यक्रममा कवि हृदय लेकालीले सिङ्गो सपना, हेर्दाहेर्दै तुहायो, महाभूकम्प भनेर हाइकु मार्फत आफ्नो प्रस्तुति पस्किरहदा गायिका शर्मिला केसीले लयमा देश दुखेको कथा गीति लय मार्फत यसरी पस्किन् : भूकम्पले विनाश ग¥यो टुहुरो भयो देश, हाम्रा पहिचान शान र सम्पदा बनायो अवशेष ।
विदेशी र स्वदेशी लाखौ परोपकारी मनहरुले सहयोग गर्दा गर्दै पनि सरकारले कामै गर्न नसकेको तर्फ इंगित गदै थिए कवि दीपक प्रधान ः सरकार भन्छ प्रधानमन्त्री कोषमा पैसा जम्मा गर, सहयोगी हातहरुको सरकारप्रति कहाँ विश्वास नै छ र ?
साहित्यीक समारोहमा कवि एल शर्माले नआत्तिई धैर्य भई विपत्तिको सामना गर्नुपर्नेमा जोड दिदैं मुक्तक मार्फत भन्दै थिईन् :
दु:ख पीडा आउदा हेर डराउन्न हुन्न
वीरगोरखाली हामीलाई सन्तापले छुन्न ।।
भूइचालेले यतिखेर खलबल पारयो
पाखुरीमा बल छ हाम्रो वीर नेपाली रुन्न ।।

राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्यातीप्राप्त साहित्यकारहरु महाकवि मोदनाथ शास्त्री, डा. दामोदर ढकाल, बालकृष्ण भट्टराई, मणिराम भट्टराई, डिल्लीराज भट्टराई, डा. शंकर नेपाल, सुन्दर बासी, एल शर्मा, पुनाराम गिरी, योगनाथ आचार्य लगायत र नवोदित कविहरु लता प्रधान, टेककुमारी ज्ञवाली, शोभा पाण्डे, यमकला न्यौपाने, सीता काफ्ले, तिलक लामिछाने, सुधिरमान सिंह विके, केशब शर्मा बेल्बासे लगायतले आ आफ्नो रचना मार्फत मुलुकले अति नै ठूलो प्राकृर्तिक विपत्तिको सामना गरिरहेको बताउदै सबै मिलेर यसको सामना गर्नुपर्नेमा जोड दिएका थिए ।
परिषदका सदस्य नरेश केसी प्रतिक्षाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा बालकवियत्रि नितीका अधिकारीको पनि शसक्त कविता सुनाएकी थिइन् । संगममा शंकर भण्डारी, गंगा अभिलाषी, सरिता केसी, विनोद श्रेष्ठ, रामप्रसाद पौड्याल, सरिना मरासीनि लगायतको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया