– विश्वास खड्काथोकी
काठमाडौँ, ३ जेठ । गत वैशाख १२ गते गएको बिनाशकारी भूकम्पले नेकपा एमालेका महासचिव इश्वर पोखरेललाई पनि निकै चलायमान गराइदियो । भूकम्पपछि उनको घरमा बास भएन । बास खोज्दै कहिले चाबहिल पुग्नु पर्यो त कहिले धुम्बाराही । राजधानीमा अहिले उनको आफ्नै घर छैन । धुम्बाराहीको घर बेचेपछि धापासीको एक घरमा भाडा तिरेर बसिरहेका थिए । भूकम्पले उनी बसिरहेको घरलाई मात्र हल्लाइदिएन, चर्कादियो पनि । त्यसपछि पोखरेलेको रात कहिले टेन्ट त कहिले आफन्तकहाँ घुम्दैमा बितिरहेको छ ।
भूकम्पको कारण शरणार्थी जस्तै बन्नु परे पोखरेलले आफ्नो पीडालाई थन्काए । र, भूकम्प पीडित जनता तथा कार्यकर्तालाई उद्दार तथा राहत दिनका लागि तल्लिन रहे । उनकै नेतृत्वमा बसेको सचिवालयको बैठकले २४ घण्टा नबित्दै भूकम्प पीडित जनताको पीडामा मल्हम लगाउन सरकारको ध्यानाकर्षण गर्ने काम गर्यो ।
पोखरेल भूकम्पको त्यो क्षणलाई सम्झन्छन्, ‘भूकम्प आउँदा म कपिलबस्तुको कार्यक्रममा थिएँ । भूकम्पले घरमा क्षति पुर्याएको सुनेपछि, हतारहतार काठमाडौं आएँ । यहाँ आउँदा परिवार तितिरबितर थिए । त्यसपछि कहिले टेन्टमा त कहिले आफन्तकोमा बसिरहेका छौँ ।’ भूकम्प गएको १५ दिनपछि मात्र उनी घरभित्र बस्न थालेका हुन् । भूकम्पले उनको निजी सचिवालय समेत कामै नलाग्ने गरी क्षति गरिदियो ।
अहिले पनि पोखरेल बासकै खोजीमा छन् । महासचिव पोखरेलले दैनिक नेपालसँग भने, ‘अहिले बाँसवारीमा बसिरहेको छु, त्यो पनि अस्थायी रुपमा । अहिलेसम्म बासको टुंगो छैन ।’
भूकम्पको कारण शरणार्थी जस्तै बन्नु परे पोखरेलले आफ्नो पीडालाई थन्काए । र, भूकम्प पीडित जनता तथा कार्यकर्तालाई उद्दार तथा राहत दिनका लागि तल्लिन रहे । कपिलवस्तुबाट काठमाडौँ फर्किएको भोलिपल्टै पोखरेलकै आह्वानमा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्यो । बल्खुस्थित पार्टीको केन्द्रीय कार्यालय पूरै चर्किएको थियो, तर बल्खुको चौरमै एमालेको बैठक बस्यो । बैठक बस्दाबस्दा दोस्रो दिनको भूकम्प गएको थियो ।

नेता तथा कार्यकर्ताहरु आफ्नो परिवार बचाउने दौडमा रहँदा एमाले महासचिव पोखरेल भने पार्टीका सचिवालयका नेताहरुलाई लिएर पार्टीका तर्फबाट उद्दार तथा राहतका योजना बनाउनतर्फ केन्द्रित भए । उनकै नेतृत्वमा बसेको सचिवालयको बैठकले २४ घण्टा नबित्दै भूकम्प पीडित जनताको पीडामा मल्हम लगाउन सरकारको ध्यानाकर्षण गर्ने काम गर्यो । महाभूकम्पछि पार्टीहरुका तर्फबाट सरकारलाई ध्यानाकर्षण र समन्वय गर्ने एमाले नै थियो । जसको नेतृत्व महासचिव पोखरेलले गरेका थिए ।

महाभूकम्प उद्दार समन्वय समितिको संयोजक रहेका पोखरेल भूकम्प पीडितलाई उद्दार तथा राहतका लागि स्वयंमसेवक र पार्टी कार्यकर्तालाई परिचालन गर्नमै ब्यस्त छन् । ‘भूकम्प पीडितलाई उद्धार, राहत र पुनःनिर्माण गर्नको लागि सिंगो पार्टी लागिरहेको छ’, पोखरेलको आग्रह छ, ‘यस्तो अवस्थामा सबै एकताबद्ध भएर लाग्नु पर्दछ ।’

पोखरेल सिन्धुपाल्चोक, दोलखा, लमजुङ, काभ्रे लगायतको ठाउँमा राहत प्रदान तथा उद्दारको लागि खटिसकेका छन् । ‘उद्दारको काम लगभग सकिएको छ । अव हामी राहत प्रदान र पुनःनिर्माणमा केन्द्रित रहन्छौँ । भूकम्पले बनाएको खरानीको जगमा सबै नेपाली नवनिर्माणमा जुट्नु पर्दछ ।’ चप्पल र सामान्य कपडामा पार्टी मुख्यालयमा भेटिएका पोखरेलले दैनिक नेपालसँग भने ।
राष्ट्रिय सरकार: राष्ट्रिय आवश्यकता
देश संकटमा रहेको बेला अब राजनीतिक पार्टीहरुले नयाँ म्याण्डेड लिएर अगाडि बढ्नुपर्ने पोखरेलको धारणा छ । ‘अब परम्परागत ढंगले चल्दैन’, उनले भने, ‘राजनीतिक दलहरुले पूर्वाग्रह छाडेर फ्रेस म्याण्डेड बनाएर अगाडि बढ्नु पर्दछ ।’
राष्ट्रिय सरकार अहिलेको राष्ट्रिय आवश्यकता भएको पोखरेलको तर्क छ । ‘यो सबैले चाहना हो । तर कतिले अभिव्यक्त गरे, कतिले गरेका छैनन्’, उनी सरकार निर्माणबारे बाल्दै थिए, ‘यस विषयमा अनौपचारिक छलफलहरु चलिरहेका छन् । जसले नेतृत्व गर्न सक्छ, उसकै नेतृत्वमा सरकार निर्माण गर्न सकिन्छ । यस्तो बेलामा राष्ट्रको सबै शक्ति परिचालित भएर अगाडि बढ्नु पर्दछ ।’ सबै मिलेर महाबिपत्तिको सामना गर्नुपर्ने पनि पोखरेलको धारणा छ । यो क्षतिको खरानीमा नवनिर्माणको कामलाई अगाडि बढाउनुपर्ने पोखरेल बताउँछन् ।
सरकारको नेतृत्व क्षमतामै समस्या
बिनाशकारी भूकम्पपछिको महाविपत्तिमा सरकारको नेतृत्व क्षमतामा समस्या देखिएको महासचिव पोखरेलको धारणा छ ।
‘यो आलोचना गर्ने बेला होइन, मिलेर काम गर्ने बेला हो’, महासचिव पोखरेलले भने, ‘तर सरकारको शक्ति परिचालन, समन्वय र नेतृत्व क्षमतामा समस्या देखियो । यसअर्थमा पनि जनस्तरबाट सरकारको आलोचना हुनु स्वभाविक हो ।’
सरकारले याथाशिघ्र क्षतिको यथार्थ विवरण संकलन गर्नुपर्ने पोखरेलको भनाइ छ । भौतिक, मानविय, सांस्कृतिक क्षतिको यथार्थ विवरण आएपछि काम गर्न सजिलो हुने भएकाले यसलाई सरकारले प्रथामिकतामा राख्नुपर्ने भन्दै उनले भूकम्पको मनोवैज्ञानिक त्रासको उपचारको सम्बन्धमा पनि विशेष योजना ल्याउनु पर्ने बताए ।
















प्रतिक्रिया