२९ आश्विन २०८३, बिहिबार

अख्तियारका पूर्वआयुक्त घुस्याहा ठहर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र उनलाई घुस दिने लम्बोदर न्यौपाने दुवैलाई भ्रष्टाचार मुद्दामा जनही ३ वर्ष कैद र ३९ लाख रूपैयाँ जरिवाना तोकेको छ । अख्तियारका पूर्वआयुक्त भएकाले पाठकलाई ३ वर्ष कैद सजायमा ३ महिना थपिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सार्वजनिक पदमा बसेका पूर्वआयुक्त पाठक र कलेज सञ्चालक न्यौपानेलाई भ्रष्टाचार गरेको उद्योगमा कैद सजाय र जरिवाना सुनाएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त पाठक र न्यौपाने दुवैजनालाई प्रतिवादी बनाई प्रतिव्यक्ति ७८ लाख रूपैयाँ बिगो माग गर्दै २०७५ चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले भ्रष्टाचार उद्योग मुद्दामा उनीहरूलाई दोषी ठहर गरेको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । यसअघि विशेष अदालतले नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका सञ्चालक समिति अध्यक्ष न्यौपाने र पाठकलाई ७८ लाख रूपैयाँ धरौटी माग गर्दै तारेखमा छाडेको थियो । न्यौपानेले पाठकलाई मुद्दा मिलाउन भन्दै घुस रकम बुझाएको सार्वजनिक भएपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो । अख्तियारले घुस लिने र दिने दुवैलाई मुद्दा चलाएको थियो ।

अख्तियारले मागदाबी गरेअनुसारै रकम अदालतले धरौटी माग गर्दै थुनाबाहिरैबाट मुद्दा लड्न सक्ने आदेश दिएको थियो । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष न्यौपानेसँग पाठकले ७८ लाख रूपैयाँ घुस लिएको दाबी अख्तियारको थियो । २०७४ साल भदौमा कलेज सञ्चालक समितिका अध्यक्ष न्यौपानेबाट दुईपटक गरी पाठकले रकम लिएको आरोप थियो । अख्तियारकै तत्कालीन आयुक्त पाठकले आफ्नो पदीय आचरणविपरीत काम गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो । भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिन उक्त कलेज सञ्चालक न्यौपानेले दिएको ७८ लाख रूपैयाँ घुस आयुक्त पाठकले लिएको आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाट पुष्टि भएको अख्तियारको ठहर थियो ।

इन्जिनियरिङ कलेजको डेढ अर्ब रूपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियारका आयुक्त पाठकले घुस लिएको सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । पाठकलाई न्यौपानेले अर्को व्यक्तिमार्फत घुस दिएको अडियो, भिडियो सार्वजनिक भएपछि मुद्दा चलाउन अख्तियारलाई नैतिक दबाब परेको थियो ।

विवाद भएपछि कलेज सञ्चालक दुई गुटमा बाँडिएका थिए । प्राध्यापक दीपक भट्टराई र पूर्व उद्योगमन्त्री रहेका हरिप्रसाद पाण्डे एउटा गुटमा छन् । २०५१ सालदेखि २०६७ सम्म प्रिन्सिपलसमेत भएर काम गरेका कलेज सञ्चालक भट्टराईले जग्गा र सेयर आफ्नो बनाउन अनेक प्रयास गरेका थिए । कलेज सञ्चालक लम्बोदर न्यौपाने, इन्जिनियर लवराज भट्टराई, रामरत्न उपाध्याय, सूर्यबहादुर केसी र उपेन्द्र गौतम अर्को गुटमा देखिएका थिए । कलेजका नाममा ३६ रोपनी जग्गा थियो । तत्कालीन चाँगुनारायण गाविसले २०५६ पुस १५ गते १७४ रोपनी जग्गा कलेजलाई भोगचलन गर्न दिएको थियो । प्रतिव्यक्ति ५ लाख रूपैयाँका दरले ३५ लाख रूपैयाँमा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ कलेज स्थापना भएको थियो । २०५१ साल असोज ९ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको उक्त कलेज हाल पोखरा विश्वविद्यालयको सम्बन्धनमा छ ।  आजको नागरिक दैनिकमा खबर छ ।