२८ आश्विन २०८३, बुधबार

दैनिक नौ सय लिटर तेल चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilबारा, १९ जेठ । भारतको रक्सौलबाट अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थ ल्याउँदा बाटैबाट दैनिक नौ सय लिटर चोरी हुने गरेको खुलेको छ। रक्सौलस्थित भारतीय आयल निगमको डिपोबाट दैनिक ७० वटा ट्यांकरले ल्याउने २४ लाख लिटर पेट्रोलियम पदार्थमा नौ सय लिटर कम हुने गरेको अमलेखगन्ज डिपोका प्रमुख भानुभक्त खनालले बताए।

रक्सौलमा तेल भर्ने बेलाको र अमलेखगन्जमा खन्याउने बेलाको तापक्रम फरक पर्ने भएकाले केही तेल घट्नु स्वभाविक भए पनि दैनिक नौ सय लिटर तेल कम हुनु अस्वाभाविक भएको उनले बताए। नियमभन्दा कम पेट्रोलियम पदार्थ ल्याउने ट्यांकरको भाडाबाट कम तेल बराबर रकम असुल गर्ने गरिएको उनले जानकारी दिए।

ट्यांकर चालक र व्यवसायीको मिलेमतोमा प्रतिट्यांकर १५ देखि २० लिटर तेल चोरी हुने गरेको खनाल बताउँछन्। रक्सौलबाट अमलेखगन्ज डिपोसम्म आइपुग्दा पेट्रोलियम पदार्थमा हुने चोरीबारे छानबिन गर्न तीन साताअघि संसदीय छानबिन टोली आएको थियो भने शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले समेत चासो राखेको थियो।

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रीवास्तवले रक्सौलबाट पेट्रोलियम पदार्थ ल्याउने क्रममा चोरी नभएको दाबी गरे। रक्सौल डिपो र अमलेखगन्जको तापक्रम चार डिग्रीसम्म फरक पर्ने भएकाले तेल कम भएको उनले बताए। तापक्रम घटीबढी हुँदा असर पर्ने भन्दै सरकारले प्रत्येक ट्यांकरलाई नौ लिटरसम्म तेल छुट दिँदै आएको छ।

कम तेल भेटिने ट्यांकरबाट आयल निगमले खरिद गर्ने मूल्यको आधारमा जरिवाना गर्नुको साटो बिक्री गर्ने मूल्यमा जरिवाना असुल गर्ने गरेकाले ढुवानी व्यवसायी पीडित बनेको श्रीवास्तले बताए। रक्सौल डिपोबाट २० हजार, २४ हजार र १२ हजार लिटर गरी तीनथरी पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको छ। नागरिक दैनिकबाट