३० आश्विन २०८३, शुक्रबार

शक्तिशाली भूकम्पको प्रभाव: काठमाडौँमा २० बर्ष अघि सुकेका मुलबाट पानी आउन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

water

काठमाडौँं, २ जेठ । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पसँगै काठमाडौँं दक्षिणभेगमा दुई दशकदेखि सुकेका पानीका मूलबाट पूर्ववत् अवस्थामा पानी आउन थालेको छ ।

भूकम्पपछि सञ्चालनमा आएका मूलमा पनि पानीको बहाव बढेको छ । सुरुका दिनमा धेरै धमिलो पानी आउने गरेका ती स्थानमा पछिल्ला दिनमा पानी सफा हुँदै जान थालेको छ । केही वर्षयता पानीको बहाव निकै कम हुँदै गएको फर्पिङको शेषनारायणमा भूकम्पपछि पानीको बहाव बढेको छ भने चाल्नाखेलमा ०५०/५१ सालदेखि सुकेका रैला, मूलपानी, खहरेलगायतका स्थानका मूलमा पानी पलाएको छ ।

स्थानीयवासी एवम् चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङका अनुसार सुकिसकेका प्राचीन पानीका मुहानमा भूकम्पसँगै पानी आउन थालेको तथा आसपासका अन्य पानीका स्रोतमा पनि पानीको बहाव बढेको छ ।

फर्पिङस्थित शेषनारायणमा रहेका दुई मूलमध्ये एउटा मूलमा लगभग १२ वर्षयता सुकेको मूल भूकम्पपछि पूर्ववत् रुपमा सञ्चालनमा आएको छ । स्थानीयवासीका अनुसार उक्त दिन भूकम्पसँगै माटो मिसिएको लेदोयुक्त पानीले यसअघि सुकेको शेषनारायण कुण्ड पूर्ण रुपमा भरिएको थियो ।

उक्त दिनपछि क्रमशः पानी सफा हुँदै गएकामा वैशाख २९ गतेको पराकम्पनका कारण केही दिनयता अझै धमिलो पानी आइरहेको छ । स्थानीय समाजसेवी शशि शर्मा अर्यालका अनुसार दक्षिण भेगस्थित डल्लुको नौमूल र सेतीदेवीस्थित सातमूलमा भूकम्पपछि पानीको बहाव निकै बढेको छ ।

भूकम्पपछि पानीका प्राचीन मुहानमा पानी आउन थालेका कारण अचम्मित बनेका चाल्नाखेलवासीलाई पछिल्ला दिनमा छ्वाङ डाँडाबाट लगातार ढङ्गा खस्न थालेपछि भने थप चिन्तित बनाएको छ । “डाँडा तल रहेको ठूलो बस्तीमा ढुङ्गा खस्न थालेपछि रातदिन ठूलै पहिरो आउँछ कि भन्ने चिन्ताले त्रसित बनाएको छ, सयाँै घर डाँडाको सिधै तल रहेका कारण वर्षात् अगावै जोखिम कम गराउने उपाय निकाल्नुपर्छ”, तामाङले भन्नुभयो ।

यसैबीच राष्ट्रमा परेको विपत्ति अब नबढोस् भन्दै चम्पादेवी तामाङ गुठीले आज क्षमापूजा गरेको छ । रासस,