२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय सहमतिको झल्को

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरूबीच घोचपेच हुन्छ कि भन्ने धेरैको अनुमान थियो । तर सोमबारको बैठकमा ठुलासाना कुनै पनि दलका नेताहरूले नयाँ सरकारको विपक्षमा आवाज उठाएनन् । बरु उनीहरूले जनताका समस्या समाधान गर्न सरकारलाई चुनौती र अवसर दुवै रहेको बताउँदै सजग रहन आग्रह गरे ।

सोमबार दिउँसो सवा १ बजे सुरु भएको बैठक पौने ४ बजेतिर सकिएको थियो । तर संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आ–आफ्नो धारणा राख्दा नयाँ सरकारविरुद्ध कुनै अभिव्यक्ति दिएनन् । यसबाट मंगलबार प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा सबै दल देखिन सक्ने आकलन गरिएको छ ।

संसद् बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले सत्तापक्षको सिटमा बसेका थिए भने कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  प्रतिपक्षको सिटमा बसेका थिए । तर संसद्मा दलीय धारणा राख्ने क्रममा कुनै पनि दलबाट विरोध नभएपछि राष्ट्रिय सहमतिको सरकार रहेजस्तो भान भएको थियो ।

संसद्मा विपक्षी दलका नेताले सरकारको विषयमा कुनै घोचपेच गरेनन् । तर सत्तापक्ष एमालेका अध्यक्ष केपी ओलीले भने सरकार आफैं विश्वासको मत प्राप्त गर्न सक्षम भएको बताउँदै कसैको मतको आवश्यकता नभए जसरी प्रस्तुत भएका थिए । सरकारलाई विश्वासको मत दिएर राष्ट्रपति र सभामुख फुत्काउन खोजेको चर्चा चल्न थालेपछि उनले विश्वासको मतका लागि नयाँ गठबन्धन सक्षम रहेको र यो सरकारलाई निरन्तरता दिनुपर्ने तर्क गरेका हुन् । संसद् बैठकलाई सम्बोधन गर्दै उनले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताए ।

‘सांसद र नेताको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने कहिले काम गर्ने?’ उनले भने, ‘गोटी चालाचाल होइन, काम गरौं । म सबै दललाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं । बन्न नपाउँदै बिगार्ने खेलतिर लाग्यौं भने समय बर्बाद हुन्छ ।’ उनले अहिले धेरै चुनौती रहेको भन्ने स्मरण गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे । देशले नयाँ परिवर्तन खोजेको संकेत चुनावअघि नै गरेको पनि उनले बताए । यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको उनले बताएका थिए । पार्टीहरू थुप्रै भए पनि जनताले परिवर्तनको अपेक्षा राखेकाले नयाँ पार्टीको उदय भएको भन्दै उनले नयाँ पार्टीलाई आफ्नो गठबन्धनमा टिकाउन फकाईफुल्याई पनि गरेको देखिन्थ्यो । देउवा नेतृत्वको सरकारले काम गर्न नसेकेको संकेत गर्दै उनले भने ‘देशले नयाँ परिवर्तन खोजेको संकेत चुनावअघि नै गरेको थियो, यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको छ ।’ कांग्रेस सभापति देउवा बोलेपछि ओलीले भनाइ राखेका थिए ।

प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई दिएका थिए । उनले नयाँ गठबन्धन बनेको प्रति कुनै गुनासो गरेनन् । उनले भने, ‘म नवनियुक्त प्रधानमन्त्रीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्छु ।’ उनले प्रधानमन्त्रीलाई मात्र नभई मन्त्रिपरिषद्मा रहेका सबै मन्त्रीलाई पनि बधाईसहित सफलताको शुभकामना दिएका थिए । उनको भनाइमा यो सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने र सरकारलाई विश्वासको मत दिने संकेत देखिएको थियो ।

विपक्षी दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई दिए । प्रधानमन्त्री दाहालले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गर्नु सकारात्मक रहेको उल्लेख गर्दै उनले दाहाललाई जनताले परिवर्तनको अनुभूति गर्न पाउने गरी काम गर्न सुझाए । ‘परिवर्तनको महसुस हुनेगरी काम अघि बढोस्, बोली र व्यवहारमा सामञ्जस्य आओस्,’ उनले भने। उनले सरकारको समर्थन गर्ने कि विरोधमा जाने भनेर केही खुलाएनन् तर सरकार फेरिइरहेको हेर्न नचाहेको बताए ।

उनले भने, ‘हामी पनि चाहँदैनौं कि छिनछिनमा सरकार परिवर्तन होस् ।’ यसबाट उनले पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेको विश्लेषण गर्न सकिन्छ ।  विपक्षी दलका रूपमा रहेका लोसपाका शरतसिंह भण्डारीले वर्तमान सरकारलाई अवसर र चुनौती दुवै रहेको बताए । उनले भने, ‘चुनौती यस मानेमा छ, विश्वास कायम कतिसम्म हुन्छ भन्ने हो । अवसर कसरी छ भने विश्वास दिए पनि सरकारले आफूले भनेको काम कसरी गर्न सक्छ?’ उनको भनाइले लोसपाले पनि सरकारलाई विश्वासको मत दिन सक्ने सम्भावना देखिएको छ । नाउपाबाट संसद्मा सम्बोधन गरेकी रन्जिता श्रेष्ठले फौजदारी अभियोगमा जेलमा रहेका रेशम चौधरीको रिहाइको माग गरिन् । उनले पनि सरकारको कुनै विरोध गरिनन् ।

संसद्मा बोल्दै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलको मत बटुल्ने गरी संसद्मा आफ्नो भनाइ राखेका थिए । उनले भने, ‘हामी राजनीतिक पृष्ठभूमिबाट आएका छौं, मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं ।’ उनले आफू निरन्तर जनताको निगरानीमा रहेको बताउँदै सरकारमा रहेर राम्रो काम गरेर देखाउनेतर्फ आफ्नो अभिव्यक्तिलाई केन्द्रित गरेका थिए । उनले प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरूले प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रको सच्चा प्रतिनिधित्व रहेको भन्दै खुसी व्यक्त गरे । उनले हजारौं सहिद, बेपत्ता, जेलनेल सहेका, घाइते भएका, अपांगताको सिकार भएका नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट अहिलेको संसद् समावेशी बन्न सकेको पनि बताए ।

उनको भनाइबाट आफू सबै जात वर्ग र क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति प्रधानमन्त्री बनेकाले विश्वासको मत दिन योग्य रहेको भनी आफूलाई प्रस्तुत गरेका थिए । ‘विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभौगोलिक विशेषता भएको यो देशमा विविधताको सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा गर्‍यौ भने विभाजनतिर जान्छौं,’ उनले भने । उनले आफू राष्ट्रियताको पक्षधर रहेको पुष्टि गर्न खोजेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।